काठमाडौं । गृहमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले नेपाली जनताको जीवन रक्षा गर्नु सुरक्षा निकायको सबैभन्दा ठूलो कर्तव्य भएको बताएका छन् ।
आइतबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकमा निरीक्षण भ्रमण गर्दै मन्त्री अर्यालले जेन-जी आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका युवा र सुरक्षाकर्मीप्रति उच्च सम्मान व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरीलाई पूर्ण तयारीका साथ खटिन निर्देशन दिए।
“नेपाली जनताको जीवन रक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले राम्रोसँग बुझेका छन् भन्नेमा म विश्वस्त छु,” मन्त्री अर्यालले भने।
मन्त्री अर्यालले सशस्त्र प्रहरी बलले स्थापना कालदेखि सीमा सुरक्षा, आन्तरिक शान्ति, राजस्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे।
सीमापार अपराध, अवैध चोरीपैठारी, मानव बेचबिखन र लागूऔषध ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरी एक समर्पित फौजको रूपमा स्थापित भएको उनले उल्लेख गरे।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी आम निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष बनाउन बल पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाए।
उनले संगठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई कायम राख्न जवानहरू अनुशासित र कर्तव्यपरायण रहेको बताए।
महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा जनशक्ति र बोर्डर आउट पोस्ट (बीओपी) थप गर्न सके राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे।
साथै, सम्भावित आन्दोलनहरूको शान्तिपूर्ण व्यवस्थापनका लागि हुल तथा दंगा नियन्त्रणमा सक्षम विशेष इकाईको विकास, बख्तरबन्द गाडी, वाटर क्यानन र आधुनिक हतियार व्यवस्थापनमा मन्त्रालयको सहयोग आवश्यक रहेको उनले बताए।
निरीक्षणका क्रममा मन्त्री अर्यालले सशस्त्र प्रहरीले प्रयोग गर्दै आएका विभिन्न उपकरणहरूको अवलोकन पनि गरेका थिए।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीसहित उच्च सरकारी अधिकारी र सशस्त्र प्रहरीका अधिकृतहरूको उपस्थितिमा सुरक्षा तयारीबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।