काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई पछ्याउने समूह घरसम्मै धाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गर्ने प्रयास भइरहेको दाबी गर्दै चेतावनीसमेत दिएका हुन् ।
गुरुङले आफूलाई धम्क्याउने वा डराउने प्रयास नगर्न आग्रह गर्दै भने, 'सोच्नु भएको होला गुरुङ सोझो छ। तर म सोझो छैन है फेरि। म राम्रोमा धेरै राम्रो छु, तर नराम्रोमा म निकै नराम्रो हुन्छु। त्यसैले मेरो बाटोभन्दा टाढा बस्नू।'
उनले अज्ञात समूहलाई लक्षित गर्दै देशलाई बनाउनेतिर लाग्न सुझाए। 'यति धेरै इफोर्ट मलाई फलो गर्न होइन, देशलाई राम्रो बनाउनतिर लगाउनुस्। मन्त्रीपरिषद् विस्तारमा राम्रा-राम्रा मन्त्रीहरू गएका छन्। देश परिवर्तन गर्नुपर्ने बेला हो, आक्रमण गर्ने समय होइन,' गुरुङले भने ।
सन्देशमा उनले आफूलाई पछ्याउँदै डराउने प्रयासले उल्टै अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिएका छन्। 'मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ। आफ्नो प्रोटेक्सन आफैं गर्नुपर्छ। अस्ति सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ,' उनले भने।
गुरुङले यसलाई 'फ्यान फलोइङ' भन्दै व्यंग्यसमेत गरे । 'कस्तो हाँसो उठिसक्यो मलाई। यति साह्रो माया गरेर फलो गरिराख्नेरु बरु फोटो खिच्न आउनुस्, सिग्नेचर दिन्छु। धम्क्याएर केही हुनेवाला छैन,' उनले भने।