Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कांग्रेसभित्र विशेष महाधिवेशनको माग, १०९ जनाले गरे हस्ताक्षर

कांग्रेसभित्र विशेष महाधिवेशनको माग, १०९ जनाले गरे हस्ताक्षर

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् ।

सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिहरूले विषेश महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरू गरेका हुन्। पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने हस्ताक्षर गरिसकेका छैनन्।

अब यो अभियान जिल्ला–जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा पुर्‍याउने पक्षमा नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूह छ।

हालै बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राख्दा सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरूले विरोध गरेका थिए।

कांग्रेसमा केन्द्रीय सदस्यमध्ये ४० प्रतिशत र महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतले हस्ताक्षर गरी माग गरेमा सभापतिले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

विधानको दफा १७ (२) मा भनिएको छ–‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ ।

केन्द्रीय समितिमा सभापति देउवा पक्षका ८० प्रतिशत बढी सदस्य छन्। सभापति देउवा अहिले नै पदबाट राजीनामा दिने पक्षमा देखिएका छैनन् ।

भदौ २४ गते प्रदर्शनकारीको आक्रमणबाट आफ्नै घरमा घाइते भएका उनी सैनिक अस्पतालमा उपचाररत छन्। सभापति देउवाले पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘असजिलो परिस्थितिमा सहयोग गर्न’ भनेका छन्।

त्यसैले सभापति देउवानिकट केही पदाधिकारीहरूले विशेष महाधिवेशन मागेका महामन्त्रीद्वय थापा र शर्मालाई लक्ष्य गर्दै अभिव्यक्ति दिन थालेका छन्, बैठक गरी थप रणनीति बनाउन थालेका छन्।

केन्द्रीय समितिबाट विशेष महाधिवेशन निर्णय हुने सम्भावना क्षीण बनेपछि महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान सुरू गरेका हुन्।

विशेष महाधिवेशन माग्नेहरूमा अहिलेसम्म नेता शेखर कोइराला, महामन्त्री गगन थापा र केही सभापति देउवा पक्षका पनि रहेको नेताहरूको भनाइ छ।

विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना नभएकाले हस्ताक्षर अभियान सुरु गरिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077