काठमाडौं । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको सरुवा गरिएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको हो ।
जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।
जेन–जी आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो ।
सरकारले दुवाडीसहति तीनजना सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो ।
गृहसचिव रहेका दुवाडीलाई योजना आयोगमा पठाइएको छ भने उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ । रक्षासचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको छ ।