काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाको काँधमै अडिएको बताएका छन् ।
भक्तपुरको गुण्डुस्थित निवासमा भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल अरू देशले भिसासमेत नदिने बदनाम स्थितिमा पुगिसकेको बताए ।
उनले भने–‘नेपालीलाई अहिले भिसा नदिने भइसके, काम नदिने अवस्था भइसक्यो । नेपाल बदनाम अवस्थामा छ ।’
नेपाल इमानदार र कर्मठ मानिसहरूको देश रहेको भन्ने बनाउनुपर्ने बताएका उनले युवाहरूले निराश नभई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताए ।
उनले भने–‘यो देश हाम्रो हो हामीले बनाउनुपर्छ । अहिले कसले जलायो थाहा छैन । देश र इतिहासलाई माया गर्ने मान्छेले पक्कै सिंहदरबार जलाएन । अरू नै कुनै घुसपैठ गर्ने तत्त्वहरूले जलाएका हुन् । जो पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर । योजनाबद्ध काम हो यो । यस्तो कुरा हामीले बुझ्नुपर्छ ।’
ओलीले सिंहदरबार जलाउँछु भनेर पहिल्यैदेखि भन्दै आएका व्यक्ति भनेर संकेत गरेका पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । शाहले २०८० भदौ १६ गते सामाजिक सञ्जाल फेसबुकमा ‘सिंहदरबार जलाउने’ भन्दै धम्कियुक्त विवादित स्टाटस लेखेका थिए ।
यद्यपी चौतर्फी विरोध र आलोचना भएपछि उनले शनिवार राति लेखेको उक्त धम्कियुक्त स्टाटस सोमवार बिहान हटाएका थिए ।
शनिबार राति सुत्केरी पत्नी चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा रोकेपछि आक्रोशित बनेका मेयर साहले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिँदै सरकारलाई चोरको संज्ञा दिएको थियो।