काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा नेतृत्व परिवर्तन हुने जानकारी दिएका छन्।
बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उनले पार्टीको आगामी महाधिवेशनसँगै आफूले नेतृत्व छोड्ने जानकारी दिएका हुन्।
नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको स्विकार्दै आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा टुंगिने उनको दाबी छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो।
प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरूले नेतृत्व छोड्नुपर्ने दबाब बढ्दै गएको छ।
प्रचण्डले भने- 'नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ।'
केन्द्रीय कमिटीको एजेण्डा तय गर्न बुधवार बसेको माओवादीको स्थायी कमिटी बैठकमा केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय भएका छन् ।
असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए।