काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह प्रधानमन्त्री सुशीला कार्कीप्रति असन्तुष्ट बनेका छन् ।
जेनजी आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरू अझैसम्म कारबाहीको दायरामा नआएको भन्दै मेयर बालेनले बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर कडा आपत्ति प्रकट गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले भेटमा 'बाहिरको माहोल कस्तो छ ?' भनेर जिज्ञासा राखेपछि बालेनले हालसम्मको राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनसँग सम्बन्धित पीडित पक्षका मागबारे धारणा राखेका थिए।
उनले विशेषत: भदौ २३ गते भएको आन्दोलनमा गोली चलाउनेहरू र आदेश दिनेहरूलाई किन अहिलेसम्म कारबाही नगरिएको भनेर प्रश्न उठाए ।
जवाफमा प्रधानमन्त्री कार्कीले आफू गम्भीर रहेको बताउँदै, 'अत्याचार गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन,' भनेर आश्वासन दिएको स्रोतले जनाएको छ ।
जेनजी आन्दोलनको पहिलो दिनमै प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको थियो ।