काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी मागेका छन्।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीको बैठकमा प्रचण्डलगत्तै बोलेका श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारीम मागेका हुन्।
बैठकमा सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । त्यसक्रममा उनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने गरी पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।
लगत्तै बोलेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए ।
श्रेष्ठले भने- 'अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाइ कार्यवाहक अध्यक्ष दिनुस । यो मेरो कुरा होइन, आम कार्यकर्ता र यो हलको कुरा राखेको हुँ ।'
यसअघि गत आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा समेत वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेका थिए ।
श्रेष्ठको प्रस्तावमा प्रचण्डसँग अन्तरसंघर्ष जारी राखेका उपमहासचिव जनार्दन शर्माले पनि समर्थन जनाएका थिए।