काठमाडौं। आज विहानै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । उनको स्टाटसको अहिले चौतर्फी रुपमा चार्चा भइरहेको छ ।
सरल शैलीका पुनले मन्त्री भएपछि मन्त्रालयमै बसेका छन् भने बस्ने बाहेकको अन्य सेवा सुविधा नलिने बताएका छन् ।
तर, आज विहानै उनले फेसबुकमा कुहिएका नेताहरू नफालेसम्म ठूलो परिवर्तन सम्भव छैन’ भन्दै स्टाटस लेखेपछि राजनीतिक दलभित्र शिर्ष नेताहरुलाई नै भनिएको अड्कल काढिएको छ ।
सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आग्रह गरेका छन् ।
उनले भनेका छन्–‘कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाए सम्म ठूलो परिवर्तन सम्भव छैन ।’ भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस भन्ने सपना देख्नु भएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नु होस् भन्ने आह्वान गर्दछु।’
पुनको उक्त स्टाटसमा चार घण्टामै १७ हजार लाइक आएको छ भने ११ सय कमेन्ट र ५३१ पटक सेयर भएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनपछि राजनीतिक दलका शिर्ष नेताहरुको भागदौड मच्चिरहेका बेला मन्त्री पुनले ‘कुहिएका नेताहरु’ भनिएको विषयलाई चासोका साथ हेरिएको छ ।