काठमाडौं । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान नभएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत गुरुङले यस्तो कदमले देशलाई अझ ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिएका हुन् । उनले अहिलेको आन्दोलन घृणाको नभई आशाको भएको स्पष्ट पारे ।
'मलाई थाहा छ, अहिले भावना तीव्र छन् र धेरैलाई निराशा महसुस भइरहेको छ। तर, हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान होइन। यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पुर्याउन सक्छन् र सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्,' उनले लेखेका छन्।
गुरुङले निर्वाचनको मिति तोकिएको तथ्यलाई स्मरण गर्दै त्यसलाई युवाको शक्ति, एकता र दृष्टि देखाउने सुनौलो अवसरका रूपमा लिन आग्रह गरे। 'शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौँ,' उनले भने।
उनले जेन जेड आन्दोलनलाई आशा, निर्माण र सकारात्मक परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गर्दै शान्त र दृढ रहन आग्रह गरे।
'हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन। सम्पूर्ण देशलाई देखाऔँ कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ,' गुरुङले जोड दिए।