Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले गरिन् ४४ नियोग प्रमुखसँग छलफल, ६ विषयमा दिइन् निर्देशन

प्रधानमन्त्री कार्कीले गरिन् ४४ नियोग प्रमुखसँग छलफल, ६ विषयमा दिइन् निर्देशन

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विदेशस्थित ४४ वटा नेपाली नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गरेकी छन् ।

हालको राजनीतिक र कूटनीतिक परिदृश्यका विषयमा केन्द्रित उक्त छलफलमा प्रधानमन्त्री कार्कीले नियोग प्रमुखहरूलाई ६ बुँदे स्पष्ट निर्देशन दिएकी छिन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार प्रधानमन्त्री कार्कीले उक्त बैठकमा हालैको जेनजी आन्दोलनपछिको परिवर्तित परिस्थिति, आगामी निर्वाचन, पुनर्निर्माण, पर्यटन र सेवा प्रवाह सुधारलगायत विषयमा विशेष जोड दिएकी छिन ।

प्रधानमन्त्री कार्कीले हालैको जेनजी प्रदर्शनले ल्याएको सामाजिक–राजनीतिक परिवर्तनबारे सम्बन्धित देशहरूलाई जानकारी गराउन नियोग प्रमुखहरूलाई निर्देशन दिइन्। उनले भनिन्, “नेपाल परिवर्तनको नयाँ चरणमा छ। यो सन्देश अन्तर्राष्ट्रिय समुदायमा स्पष्ट रूपमा पुग्नुपर्छ।”

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र सफल बनाउन अन्तर्राष्ट्रिय सहयोग र सद्भाव जुटाउन उनले निर्देशन दिइन्। साथै, निर्वाचनमा सहभागी हुन आउने अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई सहज वातावरण सुनिश्चित गर्न पनि नियोगहरूलाई जिम्मेवारी दिइयो।

प्रधानमन्त्री कार्कीले विदेशमा रहेका नेपालीहरूलाई आगामी निर्वाचनमा कसरी सहभागी गराउन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न नियोग प्रमुखहरूलाई निर्देशन दिइन्। उनले यसलाई “दीर्घकालीन लोकतान्त्रिक सशक्तीकरणको आधार” बताइन्।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणका लागि स्थापना गरिएको सरकारी पुनर्निर्माण कोषमा सहयोग जुटाउन उनले सम्बन्धित देशहरूमा रहेका नेपाली समुदाय र विदेशी मित्रहरूलाई अभियानमार्फत सहयोग गर्न प्रेरित गर्न निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले हाल पर्यटन क्षेत्रमा आएको गिरावटप्रति चिन्ता व्यक्त गर्दै नेपालमा शान्ति र स्थायित्व फर्किसकेको सन्देशअन्तर्राष्ट्रिय समुदायमा फैलाउन आग्रह गरिन्।

गत वर्ष अक्टोबरमा ७० प्रतिशतसम्म रहेको होटल बुकिङ दर यस वर्ष ३० प्रतिशतमा झरेको तथ्याङ्क उद्धृत गर्दै उनले भनिन्, “नेपाल खुलिसकेको छ, पर्यटकहरूलाई पुनः आमन्त्रित गर्नुहोस्।”

प्रधानमन्त्री कार्कीले अन्तिम निर्देशन नियोगहरूको सेवा प्रवाहलाई पारदर्शी, छरितो र नागरिकमैत्री बनाउने विषयमा केन्द्रित गरिन्। उनले भनिन्, “नियोगहरू नागरिकको पहिलो सम्पर्क बिन्दु हुन्, त्यसैले हरेक सेवामा विश्वास र पारदर्शिता झल्किनुपर्छ।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077