काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चरमन्त्री खरेलले यस्तो बताएका हुन् ।
उनले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको बताए ।
सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको मितिमा व्यापक जनसहभागितासहित स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गबाट निर्वाचन गराउने हो भन्दै उनले निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलगायत सम्बद्धपक्षसँग अनुरोध गरे ।
यसैगरी, मन्त्री खरेलले फागुन २१ गते निर्वाचन गराउने सन्दर्भमा निर्वाचन आयोगले ‘क्यालेण्डर’ नै तयार गरिसकेको अवस्थामा आवश्यक वातावरण तयारीका लागि नेपाल पत्रकार महासङ्घका तर्फबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।