काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले आफू स्मार्ट टेलिकम घोटाला प्रकरणमा संलग्न रहेको प्रमाणित भए राजनीतिक जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै पूर्वसञ्चारमन्त्री समेत रहेका खरेलले उक्त प्रकरणसँग जोडेर प्रकाशित गरिएका समाचारप्रति कडा आपत्ति जनाउँदै यस्तो भनेका हुन् ।
उनले भने- स्मार्ट टेलिकमको २० अर्ब ठगी प्रकरण भनेर लेखिएको यति निरर्थक र तल्लो स्तरको पत्रकारीताले मेरो मानसम्मान, प्रतिष्ठा, राजनीतिक जीवनमा ठेस पुर्याएको छ । उक्त प्रकरणमा मैले एउटा मिटिङ वा एउटा फाइल मात्रै तलमाथि गरेको प्रमाणित भए पनि म सधैंका लागि राजनीतिक जीवनबाट विदा लिन तयार छु ।
खरेलले स्मार्ट टेलिकम प्रकरणमा एउटा पनि फाइल आफूले अघि बढाएको र एउटा पनि मिटिङ पनि गरेको पाइएमा सम्पूर्ण राजनीतिक जीवनबाट विदा लिने घोषणा गरे ।
उनले थप भने- ‘म गएको भोलिपल्ट नै राजधानी दैनिक नामक पत्रिकाले पूर्वसञ्चारमन्त्री भागे भनेर समाचार लेखेको रहेछ । त्यसप्रति गहिरो खेद प्रकट गर्न चाहन्छु ।'
आफूलाई जोडेर प्रकाशित समाचार निरर्थक, भ्रामक र प्रतिष्ठामाथि प्रहार गर्ने उद्देश्यले आएको दाबी गर्दै उनले त्यसप्रति खेद र भर्त्सना गरे ।