काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिँदै छन्।
दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री राजीनामा घोषणा गरेका सिंहले परिस्थिति सामान्य भएपछि पद छाड्न मानेनन्।
त्यसपछि भदौ ३१ गते उनी आबद्ध दल जनमत पार्टीले नै मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो।
उनले संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४३ को (४) बमोजिम विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा १८८ को उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।
त्यही दिनदेखि गणना गरेर ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता मुख्यमन्त्री सिंहलाई परेको हो । सोमबार लोकतान्त्रिक समाजवादीका मन्त्रीले राजीनामा दिएसँगै सिंह एक्लिएका छन्। सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत यसअघि नै समर्थन फिर्ता लिइसकेका छन् । योसँगै अब नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ।
कांग्रेस, एमाले र जनमतले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउनेगरी दाबी पेश गर्ने तयारी गरेका छन् ।