एजेन्सी । पेरुमा जेनजी कार्यकर्ताको नेतृत्वमा भइरहेको व्यापक विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि एक प्रदर्शनकारीको मृत्यु र सयौँ घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेपछि देशभर तनाव चर्किएको छ । यद्यपि नयाँ राष्ट्रपति जोसे जेरीले राजीनामा दिन अस्वीकार गर्दै “देशको स्थिरता र कानूनको शासन कायम राख्ने” प्रतिबद्धता दोहोर्याएका छन्।
प्रदर्शनका क्रममा ३२ वर्षीय हिपहप कलाकार एडुआर्डो रुइजको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ। अभियोजक कार्यालयले रुइजको हत्या “गम्भीर मानव अधिकार उल्लङ्घन”को रुपमा अनुसन्धान गर्न आदेश दिएको छ। अस्पतालबाट शव हटाउने क्रममा अडियोभिजुअल र ब्यालिस्टिक प्रमाण सङ्कलन भइरहेको बताइएको छ।
पेन्सन र तलब वृद्धि माग गर्दै सुरु भएको यो आन्दोलन अब भ्रष्टाचार, अपराध र शासनप्रतिको मोहभंग विरुद्धको विद्रोहमा रूपान्तरित भएको छ।
जेनजी पुस्ताको अगुवाइमा भइरहेको यो प्रदर्शन अहिले विश्वका विभिन्न मुलुकमा फैलिएका युवाआन्दोलनहरूसँग जोडिएको छ — नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, मोरक्को र पेरुमा समान नाराहरू गुन्जिरहेका छन् ।