काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विघटित संसद पुनर्स्थापनाका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन् ।
उनले पूर्वप्रधानमन्त्रीहरूलाई पुन: प्रधानमन्त्री नियुक्त नगर्ने शर्तसहित संसद पुनर्स्थापनको प्रस्ताव गरेका हुन् ।
केन्द्रीय कमिटी बैठकमा बहसका लागि आफूले राखेको धारणा आइतबार नेता भट्टराई सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
उनले लेखेका छन्- 'भाद्र २३ र २४ गतेको घटनापछि उत्पन्न राजनीतिक अवस्थाको निकासका रूपमा नयाँ सरकार बनेर प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको हो । यसको संवैधानिक र न्यायिक निरूपणमा पार्टीले सहयोग गर्नुपर्छ ।‘यदि तोकिएको समयमा निर्वाचन गर्न सरकारले असफलता देखायो भने प्रतिनिधिसभा पुनर्स्थापनाको माग जनसमर्थनसहित उठ्न सक्छ । त्यस अवस्थामा हामीले स्पष्ट प्रतिबद्धतासहित अघि बढ्नुपर्छ ।'
उनले सर्वदलीय तथा ‘जेनजी’ प्रतिनिधिहरूको सहभागितामा सरकार निर्माण गरिने र पुनर्स्थापित संसदबाट नयाँ राजनीतिक सहमति निर्माण गरी सीमित अवधिभित्र निर्वाचनमा जाने प्रस्ताव राखेका छन् ।
भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिबाट गरिएको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भए पनि त्यसको समाधान शान्त र संवैधानिक प्रक्रियामार्फत खोजिनुपर्ने तर्क गरेका छन् ।
यस्ता छन् नेता भट्टराईले गरेका पाँच बुँदे प्रस्ताव
१. पुनस्स्थापित प्रतिनिधिसभाबाट पूर्वप्रधानमन्त्रीहरू पुनस् प्रधानमन्त्रीमा नियुक्त हुने छैनन् ।
२. सर्वदलीय तथा ‘जेनजी’ प्रतिनिधिहरूको सहभागितामा सरकार निर्माण गरिनेछ ।
३. पुनस्स्थापित प्रतिनिधिसभाले ‘जेनजी आन्दोलन’का माग र भावनाअनुसार सहमतिका आधारमा संविधान संशोधन गर्नेछ ।
४. सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कानुनी व्यवस्था गर्दै ठोस प्रतिबद्धतासहित विशेष प्रस्ताव पारित गरिनेछ ।
५. बढीमा आठ महिनाभित्र संघ, प्रदेश र स्थानीय तहका निर्वाचन गरी ‘वन नेसन, वन इलेक्सन’ प्रणाली कार्यान्वयन गरिनेछ ।