काठमाडौं । गृह मन्त्रालयले निर्वाचनलक्षित गस्ती बढाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।
गृह सचिवस्तरीय निर्णय गरी गृह मन्त्रालयले उक्त निर्देशन आइतबार सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाएको छ ।
“आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाहरूको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउँदै जाने । सुरक्षा निकायहरूबाट समन्वयात्मक रूपमा निर्वाचन सुरक्षा लक्षित गस्ती पेट्रोलिङ बढाउने,” निर्देशनमा भनिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ तर्जुमा सुरु भइसकेको निर्देशनमा उल्लेख छ ।
जिल्लास्तरमासमेत यसपूर्वको निर्वाचन सुरक्षा अभ्यास तथा अनुभव समेतका आधारमा सबै सुरक्षा निकायहरूले निर्वाचन प्रयोजनको लागि आवश्यक पर्ने सुरक्षाकर्मी, हातहतियार, सञ्चार उपकरण, सवारी साधनलगायतको विषयमा लेखाजोखा गर्न पनि भनिएको छ ।