Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की

निर्वाचन भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बुधबार ललितपुरको मंगलबजारमा आयोजित नेपाल संवत् ११४६ न्हूदँ समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको संरक्षणका लागि स्वतन्त्र निर्वाचन अपरिहार्य भएको बताएकी हुन् ।
उनले भनिन्, “लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली जनतालाई भयरहित ढंगले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार पूर्ण रूपमा कटिबद्ध छ।”

प्रधानमन्त्री कार्कीले संविधानको भावना र मर्मअनुसार सुशासनको आवाज सम्बोधन गर्ने जिम्मेवारी नागरिक सरकारको भएको बताइन्।
उनले भनिन्, “सरकार नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनबाट उठेको सुशासनको आवाजलाई सम्बोधन गर्न कटिबद्ध छ। यसका लागि समाजका सबै तह, तप्का र समुदायको सहकार्य आवश्यक छ। आउनुहोस्, सचेत नागरिकको रूपमा यो अभियानमा सहभागी बनौँ।”

कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःप्रति श्रद्धासुमन अर्पण गर्दै नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताइन् ।

उनले स्मरण गरिन्, 'शंखधर साख्वाः केवल व्यापारी होइनन्, समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुन्। ऋणमा डुबेका नागरिकलाई मुक्त गरिदिने उहाँको ऐतिहासिक निर्णयले सामाजिक न्याय र सहअस्तित्वको उच्च उदाहरण प्रस्तुत गरेको छ।'

प्रधानमन्त्रीले नेपाल संवतलाई राष्ट्रिय गौरवको रूपमा अझ व्यावहारिक बनाउने दिशामा सरकार तयार रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाउने युवाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भनिन्, 'कलिला युवाहरूको अनाहकमा ज्यान गुमाएको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ। उनीहरूको बलिदानले देशमा सुशासन र जनउत्तरदायी शासनको आवश्यकता देखाएको छ।'

उनले सोही आन्दोलनको जगमा बनेको वर्तमान नागरिक सरकारले संविधानको अधीनमा रही देशलाई स्थायित्व र जनविश्वासको बाटोमा लैजाने जिम्मेवारी पाएको बताइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन र सुशासनको अभियान सफल पार्न सबै राजनीतिक दल, वर्ग, समूह र समुदायबीच एकता र सहकार्यको आवश्यकता औंल्याइन् ।

उनले भनिन्, 'यस कार्यमा सबै राजनीतिक दल, वर्ग र समूहको साथ रहनेछ भन्नेमा म विश्वस्त छु। राष्ट्रिय हितलाई दलगत स्वार्थभन्दा माथि राख्न सके मात्र हाम्रो सामूहिक लक्ष्य पूरा हुन्छ।'

समारोहको समापन भाषणमा प्रधानमन्त्रीले समाजसेवा, एकता र परोपकारको सन्देश साख्वाःबाट सिक्नुपर्ने बताइन् ।

उनले शुभकामना व्यक्त गर्दै भनिन्, 'शंखधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस्। नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थपोस्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077