Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित

सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित

शनिवार , कार्तिक ८, २०८२

कैलाली । गएको भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशसभा भवनमा क्षति पुगेपछि बैठक सञ्चालन हुन सकेको छैन । क्षतिग्रस्त प्रदेशसभा भवन र अरू संरचना मर्मत तथा व्यवस्थापनको काम अझै सुरु गरिएको छैन ।

प्रदेशसभा सचिवालयका अनुसार, क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन भइनसकेको र अरू ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो ।

सभामुख भीमबहादुर भण्डारीले संरचना मर्मत र आवश्यक सामग्री व्यवस्थापनका निम्ति छलफल भइरहेको बताए । टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटपलगायत सम्पूर्ण समान जलेर नष्ट भएकाले त्यसको व्यवस्थापनपछि मात्र बैठकका निम्ति वातावरण बन्ने उनको भनाइ छ ।

प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालय, विषयगत समिति, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयमा पनि आगजनी गरिएको थियो । सचिवालयका अनुसार, प्रदेशसभाका ६ वटा चारपांग्रे गाडी र पाँच मोटरसाइकल आगजनीबाट नष्ट भएको छ । करिब १२ करोड रुपैयाँको भौतिक क्षति भएको छ ।

सचिवालयका सचिव देवबहादुर बोगटीले भवन मर्मत र आवश्यक प्राविधिक सामग्री व्यवस्थापनका निम्ति स्रोतको समस्या रहेको बताए । प्रदेशसभा बैठककक्षको मर्मत तथा आवश्यक सामान व्यवस्थापनका निम्ति मात्र कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।

गएको भदौ ५ मा प्रदेशसभा बैठक बसेको थियो । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार, प्रदेशसभामा हाल चार विधेयक विचाराधीन छन् । प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077