कैलाली । सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ ।
सभामुख भीमबहादुर भण्डारीले सोमबार बसेको प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पुस ११ गते प्रदेशसभाको बैठक बस्ने निर्णय भएको जानकारी दिए ।
चालु बजेट अधिवेशनअन्तर्गतको पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी र तोडफोड भएपछि नियमित बैठक बस्न सकेको छैन ।
बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयकमाथिको छलफलसमेत रोकिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय, संसद् भवनमा गरी झण्डै ८ करोड बराबरको क्षति पुगेको थियो ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले क्षति पुगेका संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको र पुस ११ गते दिउँसो २ बजे चालु बजेट अधिवेशनको बैठक बस्ने निर्णय भएको बताए ।