सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंतर्फ पानी पथान्तरण फेरि रोकिएको छ । हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी पथान्तरण बन्द गरिएको हो।
मेलम्ची बाढीपीडित सङ्घर्ष समितिले विगतका सहमति कार्यान्वयन नभएको भन्दै बिहीबार आयोजना साइट कार्यालयमा ताला लगाउँदै पानी पथान्तरण रोक्ने निर्णय गरेको हो । समितिका उपाध्यक्ष नवराज गुरागाईँका अनुसार माग पूरा नभएसम्म पानी काठमाडौं पठाउन दिइने छैन।
'हामीले बारम्बार सम्झौता कार्यान्वयनको माग गरेका थियौं, तर सरकार मौन छ,' गुरागाईँले भने, 'माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं जान दिने छैनौं।'
सङ्घर्ष समितिले यसअघि सरकार, गाउँपालिका र खानेपानी मन्त्रालयबीच भएको सहमति सम्झाउँदै १७ बुँदे मागपत्र अघि सारेको छ।
ती मागमा मेलम्ची नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण, बाढीअघि लिइएका कर्जा मिनाहा, बाढीपीडित परिवारलाई प्रत्येकलाई १० लाख क्षतिपूर्ति, नयाँ घर निर्माणका लागि २० लाख अनुदान, स्थानीय सरकारमार्फत खानेपानी लेवी उपलब्ध गराउने व्यवस्था र आयआर्जनका कार्यक्रम सञ्चालन लगायतका विषय समावेश छन् ।
स्थानीयहरू शुक्रबार बिहानदेखि 'आजअघि भएका सम्झौता कार्यान्वयन गर, मेलम्ची बाढीपीडित जिन्दावाद, पीडितका माग पूरा गर' जस्ता नारासहित आन्दोलनमा उत्रिएका छन्।
विसं २०८१ असोज २३ गते सङ्घर्ष समिति, हेलम्बु गाउँपालिका र खानेपानी मन्त्रालयबीच भएको सम्झौतामा तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवले स्थानीयका मागमा सहमति जनाएका थिए। तर सो सहमति कार्यान्वयन नहुँदा स्थानीयले पुनः विरोधका कार्यक्रम थालेका हुन् ।