काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला र लेखा अधिकृत केदारप्रसाद देवकोटाको मिलेमतोमा व्यापक अनियमितता हुँदै आएको छ ।
एमालेनिकट पेशागत महासंघको महासचिवसमेत रहेका देवकोटाले कार्यकक्षलाई महासंघको संगठन विस्तार गर्ने थलो बनाएका हुन् ।
बर्तौला र देवकोटोको मित्रमिलनले अन्य कर्मचारीहरु कर्नरमा परेका छन् । स्रोतका अनुसार हरेक भुक्तानीका फाइलमा दररेट अनुसारको कमिसन लिंदै आएका देवकोटा र बर्तौलाको कर्तुत थाहा हुँदाहुँदै पनि बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले मुकदर्शक बन्न बाध्य छन् ।
बर्तौला र देवकोटाको पहुँच एमालेको माथिल्लो नेतृत्वसम्म भएकाले मेयर अधिकारी निरीह बन्न पुगेको आरोप छ । बर्तौला पनि एमालेका नेताहरुसँग उठबस गर्र्ने उपसचिवमा पर्दछन् ।
देवकोटालाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको दरिलो साथ रहेको स्रोत बताउँछ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको घुसखोरीका बारेमा सेवाग्राहीले गुनासो गर्दै आएको भए पनि सुनुवाइ हुन सकेको छैन ।
कागेश्वरी मनोहरा नगरपालिका, निजगढ जस्ता आकर्षक स्थानीय तह चाहार्दै बर्तौला बुढानीलकण्ठमा पनि सेटिङमै आएका हुन् ।
जागिरको अधिकांश समय आकर्षक कार्यालयमा रजगज गर्दैआएका उनले काठमाडौं उपत्यकाका आकर्षक पालिकामा सरुवा मिलाउनुलाई आर्थिक चलखेल नै भएको सामान्य प्रशासन मन्त्रालय स्रोत बताउँछ ।
आफ्नो कुरा नमान्ने नगरपलिकाका वडासचिव र कर्मचारीलाई सरुवा गर्ने र अप्ठेरो पार्ने गरेको गुनासो छ ।
स्रोतका अनुसार उनले स्थानीय तहमा गरेको सेटिङ र भ्रष्टाचारबाटै आर्जन गरेको रकमबाट ललितपुरको धापाखेलमा आलिशान बंगला निर्माण गरिसकेका छन् ।
उनले आफू र आफ्ना परिवारका सबैको नाममा अमेरिकाको मल्टिपल भिसा लिएकाले हरेक वर्ष उता जाने गरेका छन् । नेपालमा आर्जित रकम समेत उनले अमेरिकामा समेत पुर्याएको र उतासमेत जायजेथा जोडिसकेको आरोप छ ।