काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसमा पार्टीको जनआधार विस्तार र सामाजिक छवि सुधारका लागि नयाँ जिम्मेवारीसहित अघि बढ्नु पर्ने बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै उनले मधेस केन्द्रित भूमिकामा पुनः सक्रिय हुन पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेका हुन् ।
भट्टराईले लेखेका छन्, 'पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, सामाजिक छवि सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्छ। यसबारे गम्भीरतापूर्वक विचार गर्न अध्यक्ष कमरेडलाई निवेदन गर्दछु।'
सचिव भट्टराईले मधेस प्रदेशमा हालसम्म एमालेले हासिल गरेको राजनीतिक पुनर्स्थापनामा अध्यक्ष केपी शर्मा ओलीको सूक्ष्म व्यवस्थापन र पार्टी नेताहरूको कठोर परिश्रम मुख्य आधार रहेको उल्लेख गरे।
उनका अनुसार २०७२ सालमा संविधान जारी भएपछि मधेस एमालेका लागि चुनौतीपूर्ण क्षेत्र बने पनि पछिल्लो समय पार्टीले उल्लेखनीय पुनरुत्थान गरेको छ।
भट्टराईले स्मरण गरे— 'संविधानयताका वर्षहरूमा मधेसमा एमालेका नेता–कार्यकर्ता र पार्टी कार्यालयहरू पटक–पटक आक्रमणमा परे पनि संगठन नटुटेको र निरन्तर क्रियाशील रहेकाले आजका उपलब्धि सम्भव भएका हुन्।'
उनका अनुसार प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेर एमाले पहिलो दल बनेको र प्रदेशसभामा २५ सिटसहित अग्रस्थानमा उभिनु ठूलो उपलब्धि हो।
झन्डै १५ महिनासम्म मधेस प्रदेश इन्चार्जका रूपमा काम गर्दा संगठन व्यवस्थापन, सदस्यता प्रणाली, प्रदेश–जिल्ला अधिवेशन तथा जनसंगठन सुदृढीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भट्टराईको दाबी छ।
भट्टराईले मधेसका समुदायमा जातीय विभेद, महिला हिंसा, दलितमाथिको भेदभाव र वर्गीय उत्पीडनविरुद्ध एमालेले उठाएको विमर्शले जनभावना जितेको बताए।
त्यसको साथै भौतिक पूर्वाधार विकास, आर्थिक अवसर विस्तार र “हिमाल–पहाड–तराई–मधेस एकता” को पक्षमा चलाएको अभियानले मधेसमा पार्टीप्रतिको आकर्षण बढेको उनको भनाइ छ।