Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लेखनदासको कब्जामा कपिलवस्तु मालपोत

लेखनदासको कब्जामा कपिलवस्तु मालपोत

बिहिवार , मंसिर ११, २०८२

कपिलवस्तु । भ्रष्टाचारविरुद्ध देशमा जेनजी पुस्ताले विद्रोह गरेर केपी ओलीको सरकार नै गिराउँदा पनि कर्मचारीतन्त्रमा सुधार आएको छैन । खासगरी मालपोत कार्यालयको असुली उस्तै छ।

जिल्ला मालपोत कार्यालय कपिलवस्तुको घुसखोरीले स्थानीयहरु हैरान भएका छन् । कतिसम्म भने आफैं जग्गा रोक्का राखेर फुकुवा गर्न समेत मालपोतका कर्मचारीले २० हजार रुपैयाँ घुस लिने गरेका छन् ।

लेखनदासमार्फत घुस लिएर मात्र हरेक काम हुने गरेको छ। यस विषयमा विभिन्न निकायमा उजुरी परेका छन्। लेखापढी व्यवसायीको अध्यक्ष विष्णु मौरया, गंगेसा बर्मा र बलराम वारीलेको सेटिङमा सिंगो मालपोत कार्यालय चल्ने गरेको छ ।

लेखापढी व्यवसायीले यही धन्दाबाट करोडौंको सम्पत्ति जोडिसकेका छन्। उनीहरुको मालपोत अधिकृत टिका पौडेलसँग सेटिङ रहेको स्रोत बताउँछ । धनीलाई थाहा नै नदिई उनीहरुले जग्गा बिक्री गरेको घटना समेत बाहिर आएका छन्।

मोठ फाँटका कर्मचारी राकेश चौरधीले हरेक फाइल खोज्न एक हजार रुपैयाँ लिने गरेको आरोप छ । यस विषयमा सेवाग्राहीहरुले हालै सिडिओ कार्यालयमा उजुरी गरेका छन्। तर, कर्मचारीले सिडिओ कार्यालयको आदेश पनि मानेका छैनन्।

प्रशासन कार्यालयले जग्गा आफुहरुले रोक्का नराखेको भनेर मालपोत कार्यालयलाई पत्र लेख्दा पनि घुस नलिई रोक्का फुकुवा नगरेर घुस लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धानसम्म घटना पुगेको छ ।

यसैबीच, लेखापढी व्यवसायी अध्यक्ष विष्णु प्रसाद मौरयाले आफूबारे लेखिएको समाचारमा सत्यता नभएको बताएका छन् । अनलाइन नेपालसँग कुरा गर्दै उनले भने–यस बारेमा मलाई केही थाहा छैन । कसरी, कहाँबाट समाचार आयो ? हामी बाहिर बसेर आफ्नो व्यवसाय गरिहेका छौं ।’

हामीले कसरी मालपोतमा सेटिङ गर्न सक्छौं ? भन्दै उल्टै प्रश्न गरेका उनले भने–'अरुले गरेको गल्तिमा मलाई जोड्ने काम नहोस्, मबाट कुनै गल्ती भएको छैन । मैले गल्ती गरेको पुष्टि हुन्छ भने म ब्यवसाय नै छाडिदिन्छु ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077