भोजपुर । एमाले नेता तथा पूर्व पर्यटनमन्त्री कृपाशुर शेर्पाले आफूलाई लक्षित गरी ‘कारबाहीको हल्ला’ फैलाइएको आरोप लगाएका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै उनले ४८ वर्षदेखि पार्टीप्रति इमान, निष्ठा र दृढतासहित उभिँदै आएको भन्दै निलम्बनको निर्णय नियोजित रूपमा प्रचार गरिएको दाबी गरेका हुन् ।
मोरङ अधिवेशनमा संस्थापन समूहको जितपछि उनले लेखेको सामाजिक सञ्जाल स्टाटसका आधारमा एमाले भोजपुर जिल्ला कमिटीले उनलाई निलम्बन गरेको थियो । तर शेर्पाले सो स्टाटसमा पार्टीविरुद्ध कुनै शब्द वा आशय नरहेको चुनौतीसहित प्रष्ट्याए ।
‘मलाई कुन शब्द, वाक्य वा आशयले पार्टीलाई असर पारेको हो ? पार्टीको आन्तरिक प्रतिस्पर्धामा गरिएको टिप्पणीले संगठन कमजोर हुँदैन,’ विज्ञप्तिमा उनले भनेका छन्।
शेर्पाले कारबाही प्रक्रिया ‘प्रतिशोधको परिणाम’ भएको दाबी गर्दै कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राईमाथि व्यक्तिगत मनोवृत्ति र निर्देशबाट निर्णय गराइएको आरोप लगाए। पार्टी नेतृत्वसँग स्पष्टीकरण माग्दा कसैले स्पष्ट जवाफ नदिएको उनले उल्लेख गरे।
‘व्यक्तिगत आग्रहका आधारमा वर्षौँदेखि गैरराजनीतिक तरिकाले प्रतिशोध राख्नुभएका शेरधन राईकै निर्देशनमा यो कदम चालिएको नेताहरूले नै बताए,’ शेर्पाले भने।
आफू बयोबृद्ध उमेरतिर उन्मुख भइसकेको र व्यक्तिगत महत्वाकाङ्क्षा नरहेको बताउँदै उनले कारबाहीले आफ्नो निष्ठा र विचारलाई परिवर्तन गर्न नसक्ने स्पष्ट पार्दै भने, ‘कसैले निकालेर वा कारबाही गरेर मेरो पार्टीप्रतिको निष्ठा मर्दैन।’