काठमाडौँ । मधेश–थरुहट क्षेत्रका राजनीतिक शक्ति एकतर्फ उन्मुख हुने संकेत गर्दै तीन मधेशवादी दल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) र वृषेशचन्द्रलाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) एकीकृत हुने भएका छन् ।
बुधबार तिनै नेताले संयुक्त विज्ञप्ति जारी गर्दै मधेशदेखि आदिवासी, जनजाति, दलित र मुस्लिम समुदायसम्म फैलिएर रहेको सिमान्तिकरणको समस्या समाधानका लागि एकता अपरिहार्य बनेको बताएका छन् ।
दलहरूको विखण्डनले मधेशको राजनीतिक आवाज कमजोर भइरहेको निष्कर्षका साथ तीन दल एकमुष्ट रूपमा अघि बढ्ने सहमति भएको हो ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, 'मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सिमान्तिकरणमा पारिएकाहरूको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तित्वहरूसँग यस अभियानमा सहभागी हुन अपिल गर्दछौँ।'
नेताहरूका अनुसार एकीकृत पार्टीले क्षेत्रीय अधिकार, पहचान, समावेशीता र सशक्त स्थानीय शासनको एजेन्डालाई अझ प्रभावकारी ढंगले अघि सार्नेछ ।
विगतमा विभाजित मधेशवादी दलहरूले राजनीतिक प्रभाव घटेको स्वीकार गर्दै ‘एकताबिना विकल्प नभएको’ बताएका छन्।
विज्ञप्तिमा वर्तमान राजनीतिक जटिलता, बढ्दो भ्रष्टाचार र सुशासनको अभावले मुलुक अस्थिर दिशातर्फ धकेलिएको उल्लेख गरिएको छ।