काठमाडौं । नयाँ सरकार बनेपछि पनि तराईका जिल्लामा पुलिसिङ सुध्रिन सकेको छैन। घुमुवा प्रहरीहरुले पुरानै शैलीमा असुली गरिरहेका छन्। गृहमन्त्री ओमप्रकाश अर्याल कमजोर हुँदा तस्करीदेखि मुद्दासम्ममा असुली जारी छ ।
कतिसम्म भने अघिल्लो सरकारकै पालामा छानबिनमा तानिएका अधिकृतहरुलाई समेत हटाइएको छैन । मधेस प्रदेशका ट्राफिक कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालले असुलीको सञ्जाल चलाएको आरोपमा गत भदौमा नै छानबिन सुरु गरिएको थियो ।
मधेस प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयले छुट्टाछुट्टै छानविन समिति गठन गरेका थिए। जसमा उनीमाथि कारबाहीको सिफारिस समेत भएको थियो । तर, अहिलेसम्म उनलाई हटाइएको छैन ।
अहिले पनि मुख्य नाकामा आफू निकटस्थलाई खटाएर उनले असुली गरिरहेको स्रोत बताउँछ । असुली आतंक मच्चाएपछि दुई साताअघि चालकहरुले ट्राफिकको ज्यादतीविरुद्ध आन्दोलन नै गरेका थिए।
एसपी सिलवालमाथि चोरीको गाडी प्रयोग गरेको समेत आरोप छ। एक भारतीय नम्बरप्लेटको चोरीको गाडी बरामद भएकोमा त्यसलाई भन्सार नबुझाई उनले नक्कली नम्बर प्लेट राखेर व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएका छन्।
एसपी सिलवालको व्यक्तिगत आचरणको विषयमा पनि उजुरी परेको स्रोत बताउँछ । यसअघि डिएसपी हुँदा पनि व्यक्तिगत आचरणकै कारण उनी निलम्बनमा परेका थिए।