अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिका-१ मा गाउँघर क्लिनिक भवन, विद्यालयको खानेपानी धारा तथा महिनावारीमैत्री शौचालय हस्तान्तरण तथा समुद्घाटन गरिएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र चौरपाटी गाउँपालिकाको समन्वयमा मालिका विकास संघ नेपालमार्फत सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत किमरुखमा नव–निर्मित गाउँघर क्लिनिक भवन तथा सिउँडी माध्यमिक विद्यालयमा खानेपानी धारा र महिनावारीमैत्री शौचालय निर्माण गरिएको हो ।
धारा र शौचालयको चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले उद्घाटन गरेका हुन् । सिउँडी माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी धारा गाउँपालिकाको ३८ हजार ५२४ रुपैयाँ, परियोजनाको ९९ हजार ५४६ रुपैयाँ, समुदायको जनश्रमदान १० हजार ९२२ रुपैयाँ र विद्यालयको १५ हजार ०८२ रुपैयाँ गरी जम्मा १ लाख ६४ हजार रुपैयाँ लागतमा सम्पन्न भएको मालिका विकास संघ नेपालका कार्यक्रम अधिकृत टिकाराम ढुंगानाले जानकारी दिए ।
यसैगरी महिनावारीमैत्री शौचालय गाउँपालिकाको १ लाख ६४ हजार ३०० रुपैयाँ, परियोजनाको १० लाख ०८ हजार ८००, समुदायको जनश्रमदान ७२ हजार ८६९ र विद्यालयको १ लाख ३२ हजार ०९५ रुपैयाँ गरी कुल १३ लाख ५३ हजार ९९५ रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष वीर बहादुर थापा, मालिका विकास संघ–नेपालका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर रावल, गुड नेवर्स इन्टरनेशनल नेपालका अछाम जिल्ला कार्यक्रम अधिकृत टेक बहादुर रावल, गाउँघर क्लिनिक व्यवस्थापन समितिका अध्यक्ष गणेश शाह, सिउँडी मावि व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खेम बहादुर बोगटी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी, कर्मचारी, विद्यार्थी, अभिभावक तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो । यस्तै गाउँघर क्लिनिक भवन पनि निर्माण गरी हस्तान्तरण गरिएको छ ।
गाउँघर क्लिनिक भवन चौरपाटी गाउँपालिकाको ४ लाख ९८ हजार २१७ रुपैयाँ, परियोजनाको ६ लाख २६ हजार ५२६ रुपैयाँ र समुदायको जनश्रमदान ७१ हजार ७५० रुपैयाँ गरी जम्मा ११ लाख ९६ हजार ४९३ रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
सो अवसरमा गाउँघर क्लिनिक भवन निर्माणका लागि जग्गा दान गर्ने राम बहादुर थापालाई सम्मान गरिएको कार्यक्रम अधिकृत ढुंगानाले बताए ।
ढुंगानाका अनुसार स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नुका साथै विद्यालयमा स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो ।
महिनावारीमैत्री शौचालय सुरक्षित रूपमा प्याड फेर्न तथा व्यवस्थापन गर्न सकिने गरी निर्माण गरिएको उनले जानकारी दिए ।
भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले परियोजनाले गरेका कामको प्रशंसा गरे । उनले आगामी दिनमा पनि परियोजनासँग गाउँपालिकाको सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।