काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन वैधानिक र व्यवहारिक कोणबाट उचित नरहेको बताएका छन्।
शनिवार पार्टी केन्द्रीय कर्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेकाले अहिले विशेष महाधिवेशन सान्दर्भिक नभएको बताए।
उनले भने- 'यो अवस्थामा विशेष अधिवेशनको वैधानिक, व्यवहारिक कोणबाट उचित छैन । विशेष अधिवेशनमा सहभागी हुन हुँदैन । आम निर्वाचनमा सम्पूर्ण पार्टीको शक्ति केन्द्रित गरौँ । हामी अझै चाहन्छौँ, विशेष अधिवेशनको सन्दर्भलाई यहीँ रोकौँ । सम्पूर्ण पार्टी एकत्रित भएर जाऔँ । आम निर्वाचनमा जाने क्रममा एजेण्डा लिएर जानेबारे सोचौँ ।'
उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै संशोधित कार्यतालिकाअनुसार नै अघि बढ्न आग्रह गरे। आम निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने भन्दै विशेष महाधिवेशनको सन्दर्भमा तत्काल रोक्नुपर्ने बताए।