काठमाडौं । द ब्रिटिस कलेजले विद्यार्थीहरुलाई विभिन्न बहानामा ठगी गरेको घटना सेलाउन नपाउँदै बेलायतको अर्को एक यूनिभरसीटीले पनि नेपाली विद्यार्थीहरुलाई वर्षौंदेखि शोषण गर्दै आएको खुलेको छ ।
नेपालमा सञ्चालित एजुकेसन कन्सलटेन्सीसँगको मिलेमतोमा बेलायतको स्कटल्याण्डस्थित ग्लासगो शहरमा रहेको युनिभर्सिटी अफ दि वेष्ट अफ स्कटल्याण्ड (यूडब्लुएस) नामक युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पारेर ठगी गरेको हो ।
नेपाल सकारबाट स्वीकृत लिएर सञ्चालनमा आएका कन्सलटेन्सीहरुले नै युनिभर्सिटीसँग सेटिङ मिलाई विद्यार्थीहरुलाई झुक्याएर ठगी गरेका हुन् ।
काठमाडौंमा रहेको बीज एजुकेशन कन्सलटेन्सीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई बेलायत पठाउने गर्दै आएको छ । यूडब्लुएसको नेपालमा सम्बन्धन प्राप्त कलेज पनि सञ्चालनमा छ ।
उक्त युनिभर्सिटीमा धेरै नेपाली विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । अत्यन्तै चिसो स्थानमा रहेको उक्त युनिभर्सिटीमा नेपाली एजेन्टहरुले राम्रो ठाउँ भन्दै नेपाली विद्यार्थीहरुलाई ललाई फकाई भर्ना गराउँदै आएका छन् ।
विगत ६ वर्षदेखिको रेकर्ड हेर्ने हो भने उक्त युनिभर्सिटीमा नेपालबाट करिव तीन हजार विद्यार्थी अध्ययनका लागि त्यहाँ पुगेका छन् । नर्सिङ टपअप र हेल्थ एण्ड सोसल केयर टपअप गर्न गएका उनीहरुमाथि बीज कन्सलटेन्सी लगायतले ठगी गरेको विद्यार्थीहरुकै आरोप छ ।
उक्त युनिभर्सिटीमा टपअप कोर्ष अध्ययन गरेर नेपाल फर्किएका झण्डै ९ सय विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले मान्यता नदिएको र बेलायतमा पनि मास्टर्समा भर्ना हुन नपाएपछि यो तथ्य बाहिरिएको हो ।
बीजले भने २५ प्रतिशत कमिसन पाउने लोभमा सीटीईभीटीमा तीन वर्षे डिप्लोमा गरेका विद्यार्थीलाई २ वर्षे टपअपको अफर लेटर ल्याएर भिसा लगाई युनिभर्सिटीमा भर्ना गराएको खुलेको छ ।
१ वर्ष भन्दा बढी पढ्नु नपर्ने तर ३३ महिनाको भिसा लाग्छ भन्दै फकाएर कन्सलटेन्सीहरुले २ वर्षको स्वास्थ्य विमाको रकम तिर्न लगाएर नेपालबाट विद्यार्थीहरुलाई पठाउँदै आएको खुलेको छ ।
त्यतिमात्रै होइन बीजले काम नै नलाग्ने कोर्षमा विद्यार्थी पठाउँदा एक वर्षको कोर्षमा तीन वर्षको नो अब्जेक्सन लेटर (एनओसी) बनाएको पनि खुलेको छ ।
त्यसरी पठाइने विद्यार्थीहरुको अक्सफोर्ड टेष्ट कन्सलटेन्सीले नै गराईदिने, एक वर्षको कोर्षमा शिक्षा मन्त्रालयसँग सेटिङ गरी तीन वर्षको एनओसी बनाइदिने र वर्षमा चार पटकसम्म युनिभर्सिटीका प्रतिनिधिलाई नेपाल ल्याएर विद्यार्थीहरुको आँखामा छारो हाल्ने काम पनि कन्सलटेन्सीहरुले गर्दै आएको खुलेको छ ।
कलाकार जीतु नेपालको ठूलो तस्विर राखेर आफ्नो प्रचार गरेको बीज नामक कन्सलटेन्सीले यसरी नेपाली विद्यार्थीहरुलाई ठग्दै आएको हो ।
सन् २०२५ मार्च २१ मा बीजमार्फत बेलायत पुगेका कुमार लामिछानेले भित्ताभरी २–३ सय जना विद्यार्थीको भिसा लगाएको विज्ञापन देखेर आफू पनि युके जाने सपना बुने ।
माइक्रोबायोलोजीमा व्याचललर्स र तीन वर्षे फार्मेसीको डिप्लोमा कोर्ष गरेका लामिछानेलाई बीजका प्रतिनिधिले युके गएर कोल्याबेरेटिभ हेल्थ एण्ड सोसल केयर पढ्नुस् एक वर्षमा वर्क परमिट आउँछ भन्दै सल्लाह दिए ।
मास्टर्स इन माइक्रोबायोलोजिमा भर्ना गराउनु पर्ने लामिछानेलाई ललाई फाकाई बीजका प्रतिनिधिले एक वर्षमा वर्क परमिट आउने, त्यसपछि परिवार पनि लान मिल्ने र पाँच वर्षमा पीआर हुन्छ भन्दै लोभ देखाएर यूडब्ल्युएस युनिभर्सिटीमा भर्ना गर्न सल्लाह दिए ।
नेपालमा चार वर्ष पढेको माइक्रोबायोलोजीको सर्टिफिकेट नै नदेखाउन भन्दै लामिछानेलाई बीजका प्रतिनिधिले आफ्नै एजेन्ट हो भनेर बानेश्वरस्थित इडियू–क्लिड नामक कन्सलटेन्सी पुर्याएको उनी बताउँछन् ।
माइक्रोबायोलोजीमा ब्याचलर गरेका लामिछानेले अस्फोर्ड टेष्ट आफैले दिए । त्यसपछि कन्सलटेन्सीकै प्रतिनिधिको रोहबरमा आफूलाई बैंक पुर्याएर १६ लाख रुपैयाँ बेलायत पठाइको पनि उनले बताए ।
एक वर्षे कोर्षमा तीन वर्षको एनओसी बनाउँदा लामिछानेले शंका भने गरेका थिए । तर, कन्सलटेन्सीले विश्वस्त भएर जानुस् भनेर फकाउँदा आफू खाडलमा परेको उनी सम्झन्छन् ।
जब उनी युके पुगे, त्यसपछि मात्रै उनले थाहा पाए कि आफूले अहिले अध्ययन गर्न आएको कोर्ष पढेर मास्टर्स डिग्रीमा भर्ना हुन नै नपाइने रहेछ । बरु आफूले नेपालमै पढेको कोर्षले सिधै मास्टर्समा भर्ना हुन मिल्ने थाहा पाएका लामिछानेलाई कन्सलटेन्सीले अझै पनि ‘तिम्रो नम्बर कम छ’मास्टर्समा सिधै भर्ना गर्न मिल्दैन भनेर ढाँटिरहेको बताउँछन् ।
उमेरले ३२ वर्ष पुगेका विवाहित लामिछाने परिवारको गह्रौं जिम्मेवारी बोकेर युके पुगेका थिए । माइक्रोबायोलोजीमा ब्याचलर गरेको विद्यार्थी पढाइमा अब्बल नै हुने गर्दछन् । तर, बीजको लहलहैमा लागेर युके पुग्दा आफूमाथि चार महिनामै करिव ३४ लाख ऋणको बोझ थपिएको पीडा पोखे ।
कन्सलटेन्सीले अझै झुक्याएर अनलाइन इनरोलमेन्ट गरिदिएको र कोर्ष नै पास गरिदिन्छु भन्दै आफूलाई फकाइरहेको लामिछाने बताउँछन् ।
नेपालमा यो धन्दा चलाउने मुख्य व्यक्ति हुन्, हरी कार्की । कार्कीले साझा सिधा नेपाली विद्यार्थीहरुलाई ललाई फकाइ गरी युके पठाएर करोडौं सम्पत्ति जोडेका छन् । नक्कली अफर लेटरमार्फत एनओसी बनाउने र ६ सय बन्दा बढी लामिछाने जस्ता विद्यार्थीहरुको भविश्य अन्यौल पार्ने कार्कीमाथि प्रहरीले ठगीमा मात्र नभई सम्पत्ति सुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने विद्यार्थीहरु नै बताउँछन् ।
मास्टर्स पढ्ने सपना बोकेर बीज पुगेका लामिछाने भन्छन्–‘युके पुगेपछि मात्रै थाहा भयो कि आफू गएको युनिभर्सिटी त असाइनमेन्ट नै किनेर पास गर्ने खालको रहेछ । त्यहाँ पुगेको ९९ प्रतिशत विद्यार्थीहरु हप्ताको सातै दिन काममा जाने र असाइनमेन्ट किनेर पास गर्ने गर्दा रहेछन् ।’
बीज र इडीयू कन्सलटेन्सी मिलेर आफूलाई फसाएको भन्दै उनले सहयोगको लागि अपिल समेत गरेका छन् । एक वर्षको डिग्री भनेर बीजले आफूलाई भनेको तर अहिले पढिरहेको कोर्ष २८ महिनाको रहेछ भन्ने कुरा बेलायत नै पुगेर आफूले थाहा पाएको लामिछाने बताउँछन् ।
उनले भनेका छन्–‘मलाई बीज र इडीयू कन्सलटेन्सी मिलेर गुमराहमा राखी एक वर्षे डिग्री भनेर यहाँ पठाइयो तर, यो कोर्ष त २८ महिनाको रहेछ । अहिले मैले पढेको कोर्षले न त पीएसडब्ल्यु पाइने रहेछ न त मास्टर्समा भर्ना हुन नै पाइने रहेछ । त्यसैले मलाई शिक्षा मन्त्रालयदेखि प्रहरीसम्मले सहयोग गरिदिनु होला ।’
अहिले नेपाल सरकारले स्टानफर्ड कलेज र लण्डन कलेजलाई यूडब्लुएसको नेपालमा कलेज विस्तार गर्न सम्बन्धन दिएको पनि ठगी खाने धन्दा नै रहेको युके पुगेका अर्का एक विद्यार्थीको बुझाई छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपाली बैज्ञानिक एवं शिक्षक तथा सामाजिक उद्यमी महाबीर पुन शिक्षामन्त्री छन् । उनै पुनले सञ्चालन गरेको आविष्कार केन्द्रलाई कम्प्युटर दान गरेर सामाजिक व्यक्तित्व बनेका हरी कार्कीलाई शिक्षामन्त्री पुनले कारबाही गर्न सक्लान त ? पीडित ति विद्यार्थीले प्रश्न गरे ।
त्यसो त कन्सलटेन्सी र एजेन्टहरुसँग मिलेर विद्यार्थीहरुले आफू ठगिएको भन्दै गरेको गुनासोलाई सुन्नै नचाहेको यूडब्लुएसले नेपालमा सम्बन्धन दिएका कलेजहरुलाई समेत अनुसन्धानको दायरामा ल्याएर सम्बन्धन नै खारेज गर्नुपर्ने समेत पीडित विद्यार्थीहरुको माग छ ।
नक्कली एनओसी बनाएर आफूले पढेको विषय भन्दा तल्लो स्तरको विषय पढ्न विद्यार्थी पठाउने बीज कन्सलटेन्सी र हरी कार्की जस्ता व्यक्तिका कारण नेपालबाट बाहिरिएको अर्बौं रुपैयाँको पनि नेपाल सरकारले खोजी गनुपर्ने देखिन्छ ।
त्यतिमात्रै होइन् कार्कीको समूहले विद्यार्थीबाट लिएको रकम हुण्डीमार्फत पठाउँदै आएको पनि स्रोतको दावी छ । बीज कन्सलटेन्सीले आफ्नो शाखा विदेशमा पनि रहेको बताउँदै आएको छ । उसले वेभसाइटमा नेपाल, बेलायत, अष्ट्रेलिया, भारत, पाकिस्तान, कोलम्बीया र युएइमा आफ्नो शाखा रहेको भन्दै उल्लेख गरेको छ ।
कार्की सञ्चालक रहेको बीज कन्सलटेन्सीले आफूहरु नै उक्त युनिभर्सिटीको नेपाली एजेन्ट भएको भन्दै विद्यार्थीहरुलाई कोर्षको अवधि, तह र मास्टर्समा पढ्न पाईने सुनिश्चितता बारे गलत जानकारी दिएर विद्यार्थीहरुलाई बेलायत पठाउँदै आएको छ ।
बीज कन्सलटेन्सीको ठगी धन्दाबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सिमान्तकुमार चौलागाईं यो विषयमा मन्त्रालय अनभिज्ञ रहेको बताउँछन् । त्रिभुवन विश्वविद्यालयले मान्यता नै नदिएको र युकेमा पनि अन्य विश्वविद्यालयमा भर्ना हुन नपाउने कोर्षमा बीज कन्सलटेन्सीले विद्यार्थीहरु पठाइरहेको रहेछ नि ? भन्ने अनलाइन नेपालको प्रश्नमा उपसचिव चौलागाईले भने–‘त्यस्तो कोर्षको अफर लेटर नै आउँदैन र एनओसी पनि नबन्नु पर्ने हो । कन्सलटेन्सीले ढाँटेर ठगी गरेको यस्तो केसमा विद्यार्थी आफै प्रहरीमा जान सक्छन् ।’
यसरी विद्यार्थीमाथि ठगी गर्दै आएको कन्सलटेन्सीमाथि शिक्षा मन्त्रालयले कारबाही गर्दैन ? भन्ने अर्को प्रश्नमा उनी थप भन्छन्–‘शिक्षा मन्त्रालयले कुनै पनि कन्सलटेन्सीलाई चिन्दैन । गलत गर्नेमाथि कारबाही हुन्छ । शिक्षा मन्त्रालयमार्फत जानु भन्दा विद्यार्थीहरु आफै प्रहरीकहाँ जाँदा छिटो सुनुवाई होला । हामीकहाँ पनि गुनासो आए प्रहरीलाई लेखेर पठाउँछौं ।’
कन्सलटेन्सीले झुक्याएर यसरी ठगीमा परेका केही विद्यार्थीहरुले भने युकेबाटै सीआईबीमा उजुरी दिने तयारी गरेको बताएका छन् ।
बीज कन्सलटेन्सीका सञ्चालक हरी कार्कीसँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन ।