Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डोटीमा पूर्व मुख्यमन्त्री भट्टलाई नेकपाको टिकट !

डोटीमा पूर्व मुख्यमन्त्री भट्टलाई नेकपाको टिकट !

आइतवार , माघ ४, २०८२

डोटी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि डोटीबाट त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका भट्टलाई डोटीबाट टिकट दिएसँगै जिल्लाको राजनीतिक माहोल तातिएको छ।

भट्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोटी प्रदेश सभा ‘ख’ बाट निर्वाचित भई पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। मुख्यमन्त्रीका रूपमा उनको कार्यकाललाई पूर्वाधार विकास, सुशासन र समावेशी नीति निर्माणका हिसाबले स्मरणीय मानिन्छ।

सडक सञ्जाल विस्तार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पहुँच वृद्धि, र दुर्गम जिल्लाहरूमा राज्यको उपस्थितिलाई मजबुत बनाउने काममा उनले विशेष जोड दिएका थिए।

२०७९ को निर्वाचनमा उम्मेदवार नबनेका भट्ट यस पटक प्रतिनिधि सभाको उम्मेदवारका रूपमा पुनः राष्ट्रिय राजनीतिमा सक्रिय हुने भएका छन्। उनलाई सुदूरपश्चिममा विकासबादी, सन्तुलित र परिणाममुखी नेताका रूपमा चिनिन्छ।

राजनीतिक पदमा रहँदा मात्र होइन, पदबाट बाहिरिँदा पनि जनतासँगको सम्बन्ध निरन्तर कायम राख्नु उनको विशेषता रहेको स्थानीय बताउँछन्।

सादा जीवनशैली र उच्च नैतिकताको परिचय दिएका भट्ट मुख्यमन्त्रीको कार्यकाल सकिएपछि धनगढीमा सामान्य किराना पसल सञ्चालन गर्दै आएका छन्।

सत्ताबाट बाहिरिँदा पनि सुविधाभोगी जीवन नअपनाई श्रम र इमानदारीलाई रोज्नु उनको राजनीतिक संस्कारको उदाहरणका रूपमा हेरिएको छ। यही कारण उनीप्रति सर्वसाधारणदेखि युवा पुस्तासम्म सकारात्मक धारणा रहेको देखिन्छ।

नेकपाले भट्टलाई उम्मेदवार बनाउनु पार्टीका लागि मात्र होइन, डोटी जिल्लाको विकास र सुदूरपश्चिमको आवाजलाई संघीय संसदमा प्रभावकारी रूपमा उठाउने प्रयासका रूपमा लिइएको छ।

भट्टको उम्मेदवारीसँगै डोटीमा निर्वाचन प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ । नेकपा एमालले पनि युवा नेता दिपक धामीलाई टिकट दिएको छ ।

नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाउन बाँकी छ । यस क्षेत्रमा यस अगाडि प्रेम आले चुनाव जित्दै आएका थिए । उनी यसपटक कैलाली-५ बाट नेकपाको उम्मेदवार बनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077