काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नवलपरासीका दुबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
क्षेत्र नम्बर १ मा उद्योगपति बिनोद चौधरी र क्षेत्र नम्बर २ मा देबेन्द्र राज कंडेललाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।
क्षेत्र नम्बर १ बाट चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भइसकेका सांसद हुन् ।
सोही क्षेत्रमा टिकटका आकांक्षी रहेका कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल केही समयअघि पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए । खनाललाई रास्वपाले सोही क्षेत्रबाट उम्मेदवार बनाइसकेको छ ।
यस्तै, क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार कंडेल २०७९ को निर्वाचनमा राप्रपाका ध्रुबबहादुर प्रधानसँग पराजित भएका थिए । यसपटक उनी पुनः मैदानमा उत्रिँदै अघिल्लो हारको बदला लिने तयारीमा छन् ।