काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले आगामी निर्वाचनपछि पनि बहुमतको सरकार गठन हुन नसके मुलुक पुनः राजनीतिक अस्थिरताको दुश्चक्रमा फसिरहने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले स्थिर सरकार नहुँदा देशको प्राथमिकता आर्थिक विकासतर्फ केन्द्रित हुन नसक्ने उल्लेख गरेका छन्। उनका अनुसार बहुमतको सरकार नबन्दा सरकार गठन र जोगाउने प्रक्रियामै राज्यको अधिकांश समय, स्रोत र ऊर्जा खर्च हुने खतरा रहन्छ।
नेता रिजालले २०८२ भदौ २३–२४ मा भएका घटनाबाट मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको दाबी गर्दै सरकारी अध्ययन समितिको निष्कर्ष उद्धृत गरेका छन्। उक्त घटनाबाट निजी सम्पत्तिबाहेक मात्रै करिब ८२ अर्ब रुपैयाँको क्षति भएको र आगामी निर्वाचनमा थप ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको उनले उल्लेख गरेका छन्।
‘विदेशी ऋण र सहयोगमा बजेट निर्माण गर्नुपर्ने अवस्थामा रहेको देशका लागि यति ठूलो क्षति अपुरणीय हो,’ उनले लेखेका छन्, ‘यसले मुलुकको समग्र विकासलाई कैयौँ वर्ष पछाडि धकेलेको छ।’
राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचन निर्णायक हुनुपर्ने भन्दै उनले बहुमतको सरकार गठनका लागि नेकपा एमालेलाई विजयी गराउन जनतासमक्ष आग्रह गरेका छन्।