विराटनगर । कपडा लोड गरिएको दुईवटा ट्रकलाई मोरङ प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भन्सार तथा राजस्व छलीको आशंकामा ट्रक नियन्त्रणमा लिइएको हो ।
रानी–रोडशेष सडकखण्ड अन्तर्गत विराटनगर महानगरपालिका–१४ स्थित नेपाल टेलिकम अगाडिबाट ट्रक चालकसहित नियन्त्रणमा लिइ अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।
प्रहरीले भारतबाट नेपाल प्रवेश गरेका प्र ३–०१–००५ ख ९४२५ र प्र ३–०१–००६ ख १३०८ नम्बरका ट्रक नियन्त्रणमा लिएको जनाएको छ।
९४२५ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४९ वर्षीय ऋषिराम पौडेल रहेका छन् भने अर्को ट्रकका चालक रामेछापको मन्थली नगरपालिका–१० का ३७ वर्षीय कुमार बुढाथोकी रहेका छन्।
डीएसपी चौधरीका अनुसार ट्रकमा लोड गरिएको लत्ताकपडा बिल बीजकभन्दा बढी रहेको तथा भन्सार मूल्यांकन कम गरेर राजस्व चुहावट गरिएको सूचनाका आधारमा दुवै ट्रक चालकसहित नियन्त्रणमा लिइएको हो।
प्रहरीले ट्रकमा लोड गरिएको लत्ताकपडाको अन्दाजी मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ रहेको अनुमान गरेको छ।
चालकसहित नियन्त्रणमा लिइएका ट्रकहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।