सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन्।
सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ नेतृत्व र नीति खोज्ने मतदाताका लागि काँग्रेस नै उपयुक्त विकल्प रहेको दाबी गरेका हुन् ।
'यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो। किनकि कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ,' उनले भने ।
उनले पार्टीले ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै समकालीन आवश्यकताअनुसार नीतिगत रूपान्तरणसहित अघि बढिरहेको दाबी गरे।
कार्यक्रममा बोल्दै उनले युवापुस्ताको सक्रिय सहभागिता लोकतान्त्रिक अभ्यासका लागि अपरिहार्य भएको उल्लेख गरे। धनकौलमा युवाहरूको उल्लेख्य उपस्थिति देखेर उत्साहित भएको बताउँदै उनले अब देशको भविष्य युवाहरूको काँधमा रहेको धारणा व्यक्त गरे।
सभापति थापाले अहिले मधेसको जग बलियो बनाउन शिक्षा जरुरी रहेको तर त्यसअघि भोटमार्फत युवाहरूले जिताउनुपर्ने बताए।
'अहिले सर्लाहीलगायत मधेसका जिल्लामा शिक्षा‚ स्वास्थ्य र सिँचाइ मुख्य समस्या हो। यहाँको जग नै बलियो बनाउनु छ। त्यसका लागि युवाहरूले एकजना बराबर पाँचजना परिवारलाई बुझाउनुपर्ने स्थिति छ कांग्रेसको बारेमा। तपाईं युवाहरूले यसबारेमा जिम्मा लिइदिनुपर्छ। मैले मेरो टिमसँग पनि यही भनेको छु,' उनले भने ।
सभापति थापाले सर्लाहीसहित मधेसका जिल्लाहरूका माग र मुद्दालाई पार्टीको आगामी संकल्पपत्रमा समेट्ने तयारी भइरहेको समेत बताए।