Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाशिवरात्रि : आखिर शिव को हुन् ?

महाशिवरात्रि : आखिर शिव को हुन् ?

आइतवार , फाल्गुण ३, २०८२

अधिकांश हामी “बगड बम बम भोले, बगड बम बम भोले” भन्दै गाँजा, भाङ, धतुरोले लठ्ठ हुँदै डीजे बजाएर नाच्दै हामीले शिवरात्री मनाई रहेका हुन्छौँ ।

शिवका बारेमा यति धेरै मन गढन्ते कथाहरू गढिएका छन् कि सोध्नै नसक्ने अवस्था छ । अझ अहिले इन्स्टाग्राम, टिकटक, एआई हेर्यो भने त बाफ्रे त्यसमा थुप्रै कामोत्तेजक चित्रहरु बनाइएको हुन्छ ।

पार्वतीलाई झण्डै अर्धनग्न बनाइन्छ, उनी शंकरको आलिङ्गनमा छिन्, माथि चन्द्रमा छ, बिल्कुल रोमान्टिक रात देखाइएको हुन्छ, तल चार/पाँच लाख लाइकहरू हुन्छ, कमेन्टमा "जय शम्भो" “हर हर महादेव” लेखिएको हुन्छ।

के यसरी नै होला त महादेवको पूजा ? के यही होला त शिवको उपासना ? महाशिवरात्रि नजिकिँदै गर्दा हामीमध्ये धेरैजसोले यस पर्वको वास्तविक र गहिरो अर्थ बुझ्नमा भन्दा हामी सतही कर्मकांड र मनोरञ्जनमा रुमलिरहेका हुन्छौ।

हामी गहिरो तरिकाले सोच्नुपर्छ, जिज्ञासा राख्नुपर्छ के यो केवल कर्मकाण्ड र बाह्य प्रदर्शनमै सीमित छ? र सबैभन्दा महत्त्वपूर्ण प्रश्न उठ्छ:- आखिर शिव को हुन्?

महाशिवरात्रि परम्परागत रूपमा पूरै रातभर मनाइने एकमात्र पर्व हो जहाँ अत्यन्तै कम संगीत हुन्छ, कुनै रंगीन सजावट हुँदैन, र आडम्बर तथा उज्यालो पनि न्यूनतम हुन्छ। यो विशेष रात दुई धाराहरूको संगम हो एक विनाश र विलयको र अर्को सृष्टि तथा नयाँ सुरुवातको।

आदि शंकराचार्यको प्रसिद्ध कृति 'निर्वाण षट्कम' शिवको सम्बन्धमा बुझ्नका लागि उत्कृष्ट मार्गदर्शक हो। यो ग्रन्थ वास्तवमा शंकराचार्यले आफ्ना गुरु समक्ष दिएको आत्मपरिचय हो।

जब शंकाराचार्यले पहिलो पटक गुरुलाई भेटे, उहा किशोरावस्थामै हुनुहुन्थ्यो। उहाँका गुरु शिष्य स्वीकार गर्न अत्यन्त छनौटपूर्ण हुनुहुन्थ्यो। उहाको गुरुले सोध्नु भयो “तिमी को हौ?” युवा शंकरको उत्तरले गुरुलाई स्तब्ध पार्यो र तुरुन्तै उहालाई शिष्यको रूपमा स्वीकार गरियो।

शंकरले भन्नुभयो, 'मसँग भन्नलाई यही मात्र छ "म शिव हुँ।” यही उत्तर निर्वाण षट्कम्‌को हृदय हो। अब प्रश्न उठ्छ निर्वाण षट्कम्‌ले शिवलाई कसरी व्याख्या गर्छ? शिव सबै प्रकारका पहिचान विचारहरूको निषेधमा प्रकट हुन्छन्। अर्थात् नेति- नेति गर्दै शिवलाई परिभाषित गरिन्छ। आदि शंकराचार्य भन्नुहुन्छ। “म यो होइन, म त्यो पनि होइन।'

अनि दृढतापूर्वक घोषणा गर्नुहुन्छ। 'शिवोऽहम्:' म शिव हुँ। यसको अर्थ, जसजसलाई उहाँले आफूबाट अस्वीकार गर्नुहुन्छ, ती सबै शिवसँग सम्बन्धित छैनन्। शिवको वर्णन गर्दा, उहाँले मानव पहिचानसँग जोडिएका सबै तत्त्वहरूलाई नेति- नेति गर्दै क्रमशः नकार्नुहुन्छ।

सबै परिचित सम्बद्धतालाई त्यागेर बारम्बार पुष्टि गर्नुहुन्छ:- ''चिदानन्द रूपः शिवोऽहम् शिवोऽहम्" अर्थात म शुद्ध चेतना र आनन्दको स्वरूप हुँ। म शिव हुँ। आचार्य शंकरले निर्वाण षट्कमको पहिलो श्लोकमा नकार्दै भन्नु भएको छ। मनोबुद्ध्यहङ्कार चित्तानि नाहं न च श्रोत्रजिह्वे न च घ्राणनेत्रे ।

न च व्योम भूमिर्न तेजो न वायुः चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।।०१।। अर्थात म न मन हुँ, न बुद्धि, न अहंकार, म न श्रवण, न रसना, न घ्राण, न दृष्टि हुँ, म न पृथ्वी हुँ, न आकाश, न अग्नि, न वायु, म शिव हुँ। शुद्ध चेतना र आनन्दको स्वरुप हुँ। शिव शुद्ध चेतना हुन्।

शुद्ध चेतना भन्नाले विकृत चेतना द्वैतमा आधारित हुन्छ जसमा एकातिर अनुभव गर्ने अहं-स्व हुन्छ भने अर्कातिर अनुभव गरिने वस्तु। यी दुईबीच चाहिँ भ्रम, इच्छा र आसक्तिको सम्बन्ध हुन्छ। यही चेतनाका प्रदूषक हुन्। अहं-स्वले आफूलाई त्यसै वस्तुसँग जोडेर शरीर, समाज र संयोगबाट्वपहिचान बनाउन थाल्छ।

यही झूटा पहिचान नै जीवनको मूल दुःख हो, जसले चेतनाको स्वाभाविक आनन्दलाई ढाकिदिन्छ। शिव सनातन बुद्धिको सनातन बोधबाट उठेको प्रबल प्रतीक हुन। शिव कुनै जीव होइनन, हामीहरु जस्तो कुनै व्यक्ति पनि होइनन। कैलाश पर्वतमा हिंडिरहेको जुन छवि छ हामीमा त्यो पनि शिव होइनन।

शिव केवल बोध हुन। हामीले बुझ्नु पर्छ शिव कुनै व्यक्ति होइनन। शिवको कुनै व्यक्तित्व हुन सक्दैन। शिव कुनै छवि, रूप, रङ्ग, नाम वा आकारमा सीमित छैनन् । विशुद्ध चेतनालाई नै शिव भनिन्छ जसको प्रकृतिसँग कुनै पनि सम्बन्ध हुँदैन ।

जहाँ लोभ छैन, मोह छैन, राग छैन, द्वेष छैन, भय छैन, मत्तता छैन, जलन छैन, लाभ हानिको भावना छैन त्यो अवस्थालाई शिव भनिन्छ। जसले प्रकृतिलाई यति गहिरो गरी जानिसकेको छ कि अब उसको लागि प्रकृतिमा हस्तक्षेप गर्नु वा त्यससँग बाँधिनु सम्भव नै रहँदैन त्यसैलाई शिव भनिन्छ। त्यसैले शिवत्व को अर्थ चेतना हो, कुनै छवि व्यक्ति होइनन् ।

जुन चेतनाले प्रकृतिलाई यति राम्रोसँग बुझेको छ कि अब चाहेर पनि प्रकृतिसँग बाँधिन सक्दैन त्यसलाई नै शिव भनिन्छ। कुनै पनि नयाँ सुरुवातभन्दा पहिले पुरानोलाई त्याग्नु आवश्यक हुन्छ त्यो सबै जसले स्पष्टता दिदैन, आत्मजिज्ञासालाई प्रश्रय दिदैन, जसले भड्काउँछ, र जसले भ्रममा राख्छ। झूट, भ्रम, र मान्यताहरू जसले हामीलाई बाँधेर राख्छन् यी सबैको क्षय नै महाशिवरात्रिको वास्तविक सार हो। यस महाशिवरात्रिमा, हाम्रो उत्सव यही बोध होस् कि शिव कुनै रूप, कथा वा प्रतीकमा बाँधिएका छैनन् ।

शिवको उपासना भनेको पहिलो र मुख्य रूपमा आत्मअवलोकनद्वारा भित्री मलिनता हटाउनु हो। शरीर, समाज र संयोगको अनुबंन्धित पहिचानबाट मुक्त, अद्वैत अहं यही अवस्था नै शिव हो। यस शिवरात्रिमा, निष्पक्ष तवरले ले आफ्नै अवलोकन गरेर उत्सव मनाऔँ ।

यस्तो अवलोकन जसले आत्मज्ञानतर्फ लैजान्छ र आत्मज्ञान नै त्यो अग्नि हो, जसले झूटा पहिचानहरू जलेर समाप्त गर्छ। असत्यको विनाश नै सबै मंगलमय सुरुवातको आधार हो "शिव!"

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077