Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

होली : रङभन्दा पर चेतनाको उत्थान

होली : रङभन्दा पर चेतनाको उत्थान

सोमवार , फाल्गुण १८, २०८२

होली एक गहिरो सन्देश बोकेको पर्व हो होली नेपाल र भारतमा साथै अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, फिजी, ट्रिनिडाड टोबागो, सुरीनाम, मौरिसस, मालदिभ्स र इन्डोनेसिया जस्ता देशहरूमा पनि मनाइने एक प्रमुख पर्व हो।

यो दिनमा मानिसहरू एकअर्कालाई रङ लगाउँछन् सुक्खा गुलालबाट वा रङ्गीन पानीबाट। ढोल बज्छन्, मानिसहरू गाउँछन्,नाच्छन्, जो कोही हो चाहे बालबालिका, वृद्ध, पुरुष, महिला, सबै यो पर्वमा सम्मिलित हुन्छन।

भन्ने गरिन्छ होलीको दिन मित्र शत्रुको पनि भेद मेटिन्छ रे । यहाँसम्म कि शत्रुहरू पनि एकअर्कालाई अँगालो मारेर रङ लगाउँछन् र पुराना मनमुटाव बिर्सिन्छन्। होलीको अघिल्लो रात होलिकाको दहन हुन्छ।  

हामीले बुझ्नुपर्छ कि यसमा एकदम सुक्ष्म गहन प्रतीकात्मक अर्थ छ। होलीको कथा र यसको अर्थ
यो कथा विष्णु पुराणबाट आउँछ। एक असुर राजा थियो हिरण्यकश्यपु। उसले कठोर तपस्या गरेर ब्रह्माबाट अमर हुने वरदान माग्यो।

उसले चतुरतापूर्वक शर्तहरू राख्योस्- न दिनमा मरू न रातमा न घरभित्र, न बाहिर न मानिसबाट, न जनावरबाट न अस्त्रबाट, न शस्त्रबाट न भूमिमा, न जलमा, न आकाशमा यसरी वरदान पाएपछि ऊ अत्याचारी शासक भयो। उसले घोषणा गर्‍यो कि भगवानको पूजा हैन अब केवल राजाको पुजा हुनुपर्छ भन्यो ।

तर उसको आफ्नै छोरा प्रह्लाद सत्यमा अटुट श्रद्धा राख्थ्यो। प्रल्लादले आफ्नो बुवा हिरण्यकश्यपुको कुरा मान्न अस्वीकार गर्‍यो। राजाले उनलाई डरायो, लोभ्यायो, दण्ड दियो तर प्रह्लाद डगमगाएनन् । तब राजाले आफ्नी बहिनी होलिकालाई बोलायो, जसलाई आगोबाट पनि नजल्ने वरदान थियो। उसले प्रह्लादलाई काखमा राखेर दाउराको थुप्रोमा बसेर आगो लगाउन लगायो।

योजना थियो कि प्रह्लाद जल्नेछ। तर उल्टो भयो प्रह्लाद बाँचे र होलिका जलेर खरानी भई। राजाले अझै मानेन। उसले तातो फलामको स्तम्भ तयार पार्‍यो र प्रह्लादलाई भन्यो कि यसलाई अँगालो मार। त्यही स्तम्भबाट नरसिंह प्रकट हुनु भयो न पूर्ण मानिस, न पूर्ण जनावर सन्ध्या समयमा (न दिन, न रात)। भगवान विष्णुले राजालाई महलको देहलीमा (न भित्र, न बाहिर), आफ्नो काखमा राखेर, नङ्गबाट उसको वध गर्नुभयो। यसरी हिरण्यकश्यपुको सबै वरदान व्यर्थ भए।


 यो कथा सुन्दा सामान्य कथा लाग्न सक्छ तर ऋषिले यो कथाबाट हामीलाई गहिरो सन्देश दिन खोज्नु भएको छ। यो कथाको सार यो हो कि अहंकार र कपट आफैं नष्ट हुन्छ, जबकि निर्दोषको श्रद्धा सुरक्षित रहन्छ। 

 यो पर्व त्यही निर्दोष श्रद्धाको उत्सव हो प्रह्लादको श्रद्धाको, जसले उसलाई,सबै षड्यन्त्रहरूबाट, सबै अत्याचारहरूबाट, र एक शक्तिशाली राजाको अत्याचारबाट बचायो।

सांसारिक सम्बन्ध  हाम्रो मूल सम्बन्धको तुलनामा केही पनि होइनन् जो हाम्रो हृदय सत्यसँग जोडिएको छ। वेदांत दर्शनको दृष्टिबाट होलीको सन्देश गहिरो छ।

यो पर्व त्यस नशाबाट होसमा ल्याउनका लागि हो, जसमा हामी वर्षभरि डुबेका हुन्छौँ । म र तिमी, मेरो र तेरो यही मूल झूट हो। यसलाई वेदान्तमा द्वैत भनिन्छ। यही भ्रमले संघर्ष जन्माउँछ, दुःख दिन्छ जसलाई अहंकारको आधार मानिन्छ।

अहंकार अत्यन्त चालाक हुन्छ। आफ्नो झूठो हस्तीलाई जोगाइराख्न ऊ परिश्रम पनि गर्छ, तर्क पनि खोज्छ, र सत्यलाई समेत आफ्नै सेवक बनाउने प्रयास गर्छ।

व्यवहारमा हेर्दा होलीको केन्द्रीय दर्शन स्पष्ट देखिँदैन । धेरैजसो हामीले देख्ने गर्छौं उत्साह,मूर्खता, भाडभैलो, तेज रङहरू र उन्मुक्त नृत्य। यी सबै सतही प्रदर्शन हो, होली केवल रङ र दारु डबका पिएर मस्ती गर्ने पर्व मात्र होइन। यसको प्रतीकात्मक अर्थ अत्यन्त गहन छ। हाम्रो लागि यो बुझ्नु आवश्यक छ कि होली वास्तवमा केका लागि हो।

आज पर्वहरूको नाममा जे भइरहेको छ, त्यो गम्भीर चिन्ताको विषय बनेको छ। केवल वैदिक धर्मको पर्व मात्र होइन, संसारभरका हरेक पर्वहरूमा जनावर काटिन्छन्, कुनै परम्परामा त चराहरू मारेर टेबल सजाउनेलाई उत्सव भनिन्छ। पर्वहरूको नाममा जति प्रकृतिको बर्बादी हुन्छ, त्यति सायद अन्य कुनै बहानामा हुँदैन।

उत्सवको वास्तविक अर्थ त यस्तो हुनुपर्थ्यो त्यो दिन हामी प्रकृतिका घाउहरूमा मल्हम लगाऔं। तर विडम्बना के छ भने, त्यही दिन हामी प्रकृतिलाई झन् धेरै घाउ दिइरहेका हुन्छौं। यसको मूल कारण आत्मज्ञानको अभाव हो । हामी न आफूलाई चिन्छौं, न आफू बाँचिरहेको संसारलाई। आफूलाई चिन्नेलाई विद्या भनिन्छ, र केवल बाहिरी संसारलाई चिन्नेलाई अविद्या ।

उपनिषदहरू भन्छन् विद्या र अविद्या दुवैको सन्तुलन भए मात्र जीवन सार्थक हुन्छ। तर आज हामीसँग न आत्मज्ञान छ, न जगतको सम्यक् ज्ञान । यदि जगतको ज्ञान हुन्थ्यो भने, हामीलाई जलवायु परिवर्तन (क्लाइमेट चेन्ज) के हो भन्ने थाहा हुन्थ्यो। संसारमा के भइरहेको छ भन्ने बोध हुन्थ्यो। तर यथार्थ यो छ कि हामी पढे लेखेका भए पनि चेतनाको दृष्टिले अझै अनपढ छौं।

होली वास्तवमा चेतनाको उत्थानको उत्सव हो अज्ञानमाथि ज्ञानको विजय, अहंकारमाथि विवेकको विजय। होलिका दहनको प्रतीक यही हो नकारात्मक प्रवृत्तिहरूको अन्त्य र चेतनाको उत्थान आरम्भ।

यसैले आज आवश्यकता छ धार्मिक प्रथा, परम्पराहरूको पुनरावलोकन र सुधार। परम्परा जोगाउनु आवश्यक छ, तर विवेकहीन अभ्यासलाई जस्ताको तस्तै निरन्तरता दिनु धर्म होइन। धर्म भनेको आत्मज्ञान हो, चेतनाको उत्थान हो, करुणा हो, प्रकृतिसँगको सहअस्तित्व हो।

यदि होलीलाई साँच्चिकै अर्थपूर्ण बनाउने हो भने, त्यस दिन हामीले केवल एक अर्कामाथि रङ छ्याप्नु होइन, प्रकृतिप्रति आफ्नो जिम्मेवारी पनि सम्झनुपर्छ। तब मात्र होली रङको मात्र होइन, चेतनाको पर्व बन्न सक्छ। सबैलाई होलीको शुभकामना।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077