काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले जेनजी आन्दोलनको भागिदार नेकपा एमाले मात्र नभएको दाबी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै तत्कालीन सरकारको नेतृत्व एमालेले गरेको भए पनि कांग्रेस समेत सरकारमा रहेका कारण कांग्रेस समेत उत्तिकै भागिदार भएका हुन् ।
पूर्वमन्त्री समेत रहेका भट्टराईले जेनजी आन्दोलनको झण्डै ६ महिनापछि तत्कालीन सरकारका तर्फबाट भएका कमीकमजोरी भएको भन्दै आफूहरु आत्मालोचना गर्न तयार रहेको बताए ।
उनले भने- 'सडकमा उत्रिएको जेनजी नवयुवा पुस्ताले विरोध सिर्जना गर्नु स्वभाविक कुरा हो । यद्यपि त्यो सरकार एमालेको मात्रै थिएन । त्यहाँ गृहमन्त्रालय नेपाली कांग्रेसको थियो । त्यसका कमीकमजोरीको भागिदार पनि एमाले एक्लैले लिनुपर्छ जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेस पनि त्यसमा भागिदार छ ।'
भदौ २३ गतेको घटना राज्यको कमजोरी रहेको र भदौ २४ गते राज्यविरुद्ध संगठित अपराध हुने काम भएको उनको तर्क छ ।
२३ गते राज्यको कमजोरी थियो भने २४ गते राज्यविरुद्धको संगठित अपराध पनि थियो । षडयन्त्रहरु पनि थिए । त्यसकारण भदौ २३ र २४ गतेलाई अलग ढंगले विश्लेषण गर्नुपर्छ भनेर मैले भन्दै आएको छु,’ उनले भने ।
उनले निर्वाचनमा नवयुवा र नेकपा एमालेबीच मनमुटाव गरेर जान नहुने बताए ।
साथै एकअर्काबिच आक्रोश पोखेर मात्रै अघि बढ्न नहुने भन्दै एकआपसमा छलफल गरेर अघि जानुपर्नेमा जोड दिए ।