Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य बीमालाई जोगाउन २२ वटा कार्यक्रम कटौती, ७५ करोड रकमान्तर

स्वास्थ्य बीमालाई जोगाउन २२ वटा कार्यक्रम कटौती, ७५ करोड रकमान्तर

एमबीबीएस कार्यक्रमको ५ करोड पनि सारियो

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई जोगाउन आफ्नै चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको छ ।

बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि मन्त्रालयले चालु आर्थिक वर्षका २२ वटा कार्यक्रम कटौती गर्दै उक्त रकम उपलब्ध गराएको हो ।

स्वास्थ्य मन्त्रालयले २२ वटा कार्यक्रमबाट रकम काटेर करिब एक महिनाअघि नै अर्थ मन्त्रालयलाई प्रस्ताव पठाइएको थियो । अर्थले २३ माघमा रकमान्तर स्वीकृत गरेपछि रकम बीमा बोर्डतर्फ निकासा भएको हो ।

बोर्डका अनुसार पुस मसान्तसम्मको मात्रै सेवा प्रदायक अस्पताललाई तिर्न बाँकी दायित्व १२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

भुक्तानी नपाउँदा ठूला सरकारी अस्पतालहरू समेत आर्थिक संकटमा परेको जनाउँदै बीमा कार्यक्रमबाट हात झिक्न थालेपछि सरकार दबाबमा परेको थियो ।
यही परिस्थितिमा स्वास्थ्य मन्त्रालयले आकस्मिक रूपमा बजेट व्यवस्थापन गरेको जनाएको छ । 

दुई साताअघि प्रधानमन्त्री सुशीला कार्कीले बीमा बोर्डका लागि आवश्यक रकम ऋण गरेर पनि व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिइन् । 

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले अर्थ मन्त्रालयले रकम रकमान्तर गरेर पठाइसकेको बताएका छन् भने बोर्डका सूचना अधिकारी विकेश मल्लले पनि ७५ करोड रकम बोर्डको खातामा आएको बताएका छन् । 

अहिले स्वास्थ्य मन्त्रालयबाट रकमान्तर भएको रकम र बोर्डले संकलन गरेको केही रकम गरी १ अर्ब सेवा प्रदायक संस्थालाई बाढ्ने योजना बोर्डको छ । 

रकमान्तरमा ५ लाख रुपैयाँका कार्यक्रमदेखि ५० करोड रुपैयाँसम्मका शीर्षक समेटिएका छन् । मन्त्रालयका अनुसार संघीय अस्पतालको फायर अडिट, डिजिटल हेल्थ, हेल्थ आईडी मापदण्ड तयारी, स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण, जलवायु स्वास्थ्य सम्मेलन, टेलिमेडिसिन सेवा, एमआरआईमा एआई पाइलटिङ अध्ययनलगायत कार्यक्रमबाट बजेट काटिएको छ ।

यस्तै भरतपुर र गेटा अस्पतालमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि छुट्याइएको ५ करोड रुपैयाँ तथा क्षयरोग मुक्त स्थानीय तह अभियानको १३ करोड २५ लाख रुपैयाँ पनि बीमा बोर्डतर्फ सारिएको छ ।

निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालन खर्चका लागि विनियोजित १ अर्बमध्ये आधा अर्थात् ५० करोड रुपैयाँसमेत रकमान्तर गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077