काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०७४ देखि यताका आठ वर्ष नेपालको राजनीतिमा दुर्भाग्यपूर्ण अवधि रहेको टिप्पणी गरेका छन् ।
बिहीबार कर्णाली प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले २०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने यी वर्ष नेपालमा सरकार बनाउने र ढलाउनेमै गुज्रिएको बताएका हुन् ।
उनले भने–‘२०७४ पछिको अवधि हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो । केबल सरकार बनाउने, सरकार भत्काउने, सरकार टिकाउने कुनै–कुनै रूपमा त्यसैको वरिपरि रहिरह्यो ।’
त्यसैले संविधानमा सुनका अक्षरमा लेखिएका शब्द कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । यो अवधिमा न मधेशको पीडा र कर्णालीको घाउ पनि थाहा पाउन नसकेको उनले स्वीकार गरे ।
सभापति थापाले भने–‘२०५२ साल ०६३–६४ सम्म कर्णालीले भोगेको हिंसाभन्दा ठूलो केही थिएन । त्यो हिंसाबाट बाहिर निस्कएपछि हामीले केही न केही गर्नुपर्थ्यो । त्यो हुन सकेन ।’
अबको समय खेर फाल्ने छुट नरहेको बताउँदै सभापति थापाले भने–‘अब २०८२ देखि २०८७ सम्मको पाँच वर्ष देश र जनतालाई हामी सबैभन्दा स्वर्णिम काल हामी बनाउँछौँ ।’
बदलिएको कांग्रेसमा देशको उन्नतिको भोक रहेको बताउँदै उनले भने–‘‘पेटमा भोक छ, आँखामा सपना छ । हामी योजना बनाएर आएका छौँ, हामी सम्हालेर जान चाहेका छौं ।’
कर्णलीबासीसँग उनले अबको पाँच वर्ष अर्को प्रयोग नगर्न आग्रह समेत गरे । कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै सभापति थापाले नयाँ प्रयोग नगर्न आग्रह गरेका हुन् ।
उनले भने–‘मेरो आग्रह छ, पाँच वर्ष अर्को प्रयोग नगरौँ । पाँच वर्ष परिवर्तनको वर्ष बनाउने हो । कर्णालीका बारेमा बोल्दैगर्दा साथीहरू मुद्दा दिनुभएको छ । तर म पढेर भन्दिनँ । कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ । कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ । राराका बारेमा कविता भन्न सकिन्छ । यहाँको स्याउँको कथा भन्न सकिन्छ, यहाँको यार्सागुम्बाको कथा भन्न सकिन्छ ।’
तर प्रश्न सँगै अर्को कुरा जोडिएर आउने यहाँको गरिबी रहेको भन्दै उनले भने–‘आज देशभरी जम्मा १७–१८ प्रतिशत गरिबी हुँदैगर्दा करिब ४० प्रतिशतको गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ? सबैभन्दा ठुलो बेरोजगारी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभरका आमा बचाउँदै गर्दा कर्णालीका आमा किन बचाउन सकिएका छैनन् ? यी प्रश्नका सपाट उत्तर दिएर भाग्न सकिन्छ । तर ती उत्तर दिएर समाधान निस्किन्न ।’
एमाले र बालेनप्रति कटाक्ष
सभापति गगनकुमार थापाले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने–‘फागुन २१ को चुनाव आउन केही दिनमात्रै बाँकी छ । यो चुनाव यसरी आउँछ कल्पना पनि थिएन । चुनाव घोषणा भएको दिनबाट दायाँबायाँ नगरी चुनावको परिणामको चिन्ता नगरी कांग्रेसले काम गरिरहेको छ । यहाँ कांग्रेसबारे संसय उत्पन्न गर्न खोजिएको छ । चुनावमा यो सरकारलाई पनि साथ दिएर ट्रयाकमा ल्याएर छोड् । फागुन २१ को चुनावको सन्दर्भमा भाद्र २३ र २४ को घटनालाई नेपालमा भिन्न दृष्टिकोण छ ।’
उनले नेकपा एमालेले भदौ संसद् भवन पहिले जलेको र त्यसपछिमात्रै गोली चलेको भनेको भनाइप्रति र जेनजी आन्दोलनबारे चुपचाप बसेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’प्रति कटाक्ष गरे ।
उनले भने–‘यसमा दुई वटा प्रवृत्ति छ । एउटा इन्कार गर्छ, र भन्छ –भदौ २३ गते अगाडि देश ठिकठाक थियो । सब ठिकठाक छ सबले दूधभत खाएका थिए । केही बिग्रेको छैन । अर्को प्रवृत्ति छ – बोल्दैन, भन्दैन । तर २३ र २४ गते दनदनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ । यो दुईवटै सोचले नेपालमा २३ र २४ को अवस्था आएको हो । नेपाली कांग्रेस यो दुवै सोचभन्दा भिन्न छ ।’