काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत भएका छन् ।
प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् ।
श्रेष्ठ आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् । श्रेष्ठ विवादमा तानिएका पात्र हुन् । प्रधानमन्त्रीको सचिवालयमा उनले पत्नी र नातेदारलाई राखेको भन्दै विवाद भएको थियो ।
श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरह स्वकीय सहसचिव बनाएको कुरा खुलेपछि प्रधानमन्त्रीको सचिवालयबाट सबै नियुक्तिहरू हटाइएको थियो ।
यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनीत गरिएको हो ।
उनले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ ।
समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठले कानूनमा स्नातक गरेका छन् । उनी कानून व्यवसायी पनि हुन् ।