Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'एक्सट्रिम इनर्जी ड्रिंक्स’ : स्वास्थ्यका लागि हानिकारक

'एक्सट्रिम इनर्जी ड्रिंक्स’ : स्वास्थ्यका लागि हानिकारक

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । तपाई हामी प्रायः सबैको जीवनको अभिन्न अंग नै बनिसकेको छ -‘जंकफुड’ । पछिल्लो समय हाम्रो जीवन यस्तो बनिसकेको छ कि जंकफुड विनाको जीवन असम्भव नै छ । बालबालिकालाई फकाउन होस् वा सजिलै छाक टार्न र पेट भर्न हामी जंकफुड नै रोज्ने गर्दछौं । 

लेज, चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुट, चाउचाउ, चाउमिन, कोल्ड ड्रिक्स र बजारमा पाइने इनर्जी ड्रिक्स हाम्रा अभिन्न आहार बनिसकेका छन् । चिकित्सकहरुले यिनलाई स्वास्थ्यवर्द्धक होइनन् र खान मिल्दैन भन्दा पनि त्यसलाई व्यवहारमा उतार्न आम उपभोक्तालाई सकस नै परेको छ । 

जंकफुड भन्ने वित्तिकै उक्त खानेकुरा कम पोषकतत्व भएको, कम गुणस्तरको र कम स्वस्थकर हो । तर, यस्ता समाग्री बनाउने कम्पनीहरुले यस्तो खानेकुरालाई स्वस्थकरभन्दा पनि स्वादिलो बनाउन विभिन्न रसायन प्रयोग गरेका हुन्छन् । त्यहि रसायनका कारण हामी सबैलाई यस्तो खानेकुराको तलतल लागिरहन्छ ।

लेज, कुरकुरे, चाउचाउ, बिस्कुटजस्ता कुनै पनि खानेकुरा प्रशोधन गर्दा त्यसलाई लामो समय टिकाउन र स्वादिलो बनाउन रसायन मिसाइन्छ, जुन स्वस्थ्यवर्द्धक हुँदैन । यी खानेकुरालाई नै हामीले समग्रमा ‘जंकफुड’ भन्छौं । 

यस्ता खानेकुरामा प्रशस्त मात्रामा फ्याट, सुगर र साल्ट (चिल्लो, चिनी र नुन) हुन्छ । तर, मानिसका लागि चाहिने फाइबर, प्रोटिन, भिटामिन र मिनरलजस्ता पोषक तत्त्व पाइँदैन । 

पोषणयुक्त खानेकुरा खाँदा विभिन्न रोगबाट बच्न सकिन्छ । तर जब खानेकुरा गुणस्तरहीन र पोषक तत्त्व कम भएको हुन्छ, त्यसले पेट भर्छ तर पोषकतत्वको आपूर्ति हुँदैन । यसले गर्दा मोटोपन बढ्ने, पेटको रोग लाग्नेदेखि अनेक समस्या पैदा गर्छ ।

रङ, रसायन र टेस्टमेकर राखेर बनाइने यस्ता खानेकुराले दीर्घकालमा शारीरिक र मानसिक असर पनि गर्छ । यी सबैकुरा थाहा हुँदाहुँदै पनि हामीले त्यसलाई रोक्न सकिरहेका छैनौं । 

पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा आएका विभिन्न किसिमका पेय पदार्थले पनि मानव जीवनमा ठूलो असर पैदा गरिरहेको छ ।

आकर्षक प्याकेजिङ, आकर्षक विज्ञापन र मिठो स्वादका कारण धेरैले त्यस्ता पेय पदार्थलाई मन पराएर पिउने गर्छन् । जुन स्वास्थ्यका लागि हानीकारक मात्रै होइन घातक नै छ । 

स्वास्थ्य विज्ञहरुले इनर्जी ड्रिंकले मानिसमा ढिलो वा चाँडो गम्भीर असर गर्ने बताउँदै आएका छन् । अहिले बजारमा छ्याप्छ्याप्ती भएको इनर्जी ड्रिंक्स हो, ‘एक्सट्रिम इनर्जी ड्रिंक्स’ । 

निकै आकर्षक विज्ञापनसहित बजारभरि बिक्रीमा राखिएको उक्त पेय पदार्थको बिक्रीदर बढ्दो छ । तर, त्यो पेय पदार्थ नियमित पिउँदा स्वास्थ्यमा गम्भीर ससम्या आउन सक्ने भन्दै विज्ञहरुले सचेत गराएका छन् । 

एक्सट्रिम इनर्जी ड्रिंकमा साधारणदेखि शरीरलाई गम्भीर हानी गर्ने तहका वस्तुहरूको मिसावट गरिएको पाइएको छ । यसमा कार्बोनेट वाटर ग्लुकोज–फ्रुक्टोज स्यारुप एसिडिटी रेगुलेटर (इ ३३१, इ ३३०) मिसाइएको छ । त्यसमध्ये ग्लुकोज–फ्रुक्टोज स्यारुपको धेरै सेवन गर्दा मधुमेहको जोखिम बढ्छ ।

त्यस्तै, यो ड्रिंक्समा इ १५०डी र ई१०४ रङको प्रयोग गरिएको छ । जुन रङ बारम्बार सेवन गर्दा स्वास्थ्यमा दीर्घकालीन जोखिम हुने चिकित्सक नै बताउँछन् । अझ गम्भीर कुरा ई१०४ रङले बालबालिकामा अति चञ्चलता बढाउन सक्ने भएकाले कतिपय देशले यसको प्रयोगमा सीमितता लागू गरेका छन् ।

यसका साथै, एक्सट्रिम इनर्जी ड्रिंकमा माथि उल्लेखितबाहेक अन्य धेरै क्याफिन, टाउरिन, फ्लेवर, प्रिजरभेटिभ लगायत कृत्रिम वस्तुहरूको प्रयोग गरिएका छन् ।

डा. मनिष यादवले इनर्जी ड्रिंक्समा मिसाइएको कृत्रिम वस्तुले मस्तिष्कलाई असर पार्ने बताएका छन् ।  उनले भनेका छन्–‘यस्तो इनर्जी ड्रिंकमा हुने भनेको केमिकल मात्रै हो, त्यसमा पनि विशेष क्याफिन, टाउरिन र अरु केमिकल हुन्छ जसले ब्रेनमा स्टिमुलेन्टको काम गर्छ, उत्तेजित पार्ने काम गर्छ ।’

‘यो क्याफिन अरु स्टिमुलेटिङ केमिकलहरू बच्चाहरूको बन्दै मस्तिष्कमा यसले विशेष किसिमको साइड इफेक्ट गराउँछ, यो केमिकलले बच्चाहरूको बन्दै गरेको मस्तिष्कलाई स्टिमुलेट गर्ने काम गर्छ ।’

त्यस्तो साइड इफेक्टको गम्भीर असर १८ वर्षभन्दा मुनिका सबैलाई हुने उनको भनाई छ । डा. यादवले कुनै समयमा यस्तो ड्रिंक्स बढी भयो भने मुटुको चालमा नै असर पुर्याउन सक्ने समेत बताएका छन् ।

अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरुले समेत एनर्जी ड्रिंक्स अस्वस्थकर हुने भनेर प्रकाशित गरेको लेखहरु गुगलमा अनगिन्ती नै पाइन्छन् । 

मेडिकल न्युज टुडेमा प्रकाशित लेखअनुसार एनर्जी ड्रिंक्समा प्राकृतिक तत्व खासै हुँदैन । यसमा हुने सिन्थेटिक तत्वहरुले शरीरलाई नै अलमल पार्छ ।  प्रायःजसो यस्ता पेयमा क्याफिन र चिनी पाइन्छ । यसमा हुने ११ प्रतिशत कोरोसिभ हुन्छ, जसले दाँतको जरालाई त खराब गर्छ नै कलेजोलाई पनि असर गर्छ । 

अध्ययनहरुले दैनिक इनर्जी ड्रिंक्स खाने व्यक्तिमा कलेजोलाई छिटो असर गर्ने, मुटु स्वास्थ्यमा दखल दिने, टाउको दुखाउने सम्भावना देखाएको छ ।

इनर्जी ड्रिंक्सको विज्ञापनमा सामान्यतया मांसपेशीको शक्ति र सहनशीलता बढेको देखाइन्छ । तर वैज्ञानिक साहित्यमा यसलाई पुष्टि गर्ने प्रमाणहरू थोरै मात्रामा मात्रै भेटिएका छन् । 

यसले वास्तवमै ऊर्जा दिन्छ ?

चिनीको सेवनले तत्काल ऊर्जा प्राप्त हुन्छ । इनर्जी ड्रिङ्कमा रहेको क्याफिन र टउरिनले केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ, जसले सेवनकर्तालाई स्फूर्त महसुस गराउँछ । तर सामान्य अवस्थामा कृत्रिम रूपमा स्नायु प्रणालीलाई सक्रिय गर्नु राम्रो होइन ।

इनर्जी ड्रिङ्कमा उच्च चिनीको मात्रा हुन्छ, जसले शरीरमा फ्याट र ट्राइग्लिसराइड्सको रूपमा भण्डार हुन्छ । यसले फ्याटी लिभर र उच्च ट्राइग्लिसराइड्सको समस्या निम्त्याउन सक्छ, जसले हृदयघातको जोखिम बढाउँछ । उच्च रक्तचापको समस्या पनि हुनसक्छ । क्याफिन र चिनीको उच्च मात्रा हृदय गति र रक्तचाप बढाउन सक्छ, जुन मुटुको स्वास्थ्यका लागि हानिकारक छ ।

इनर्जी ड्रिङ्कको सेवन गर्दा क्याफिनको मात्रा बढ्छ, जसले चिन्ताको स्तर बढाउँछ । जसकारण निद्रामा असर पर्छ । अनिद्रा, टाउको दुखाइ र माइग्रेन जस्ता समस्या इनर्जी ड्रिङ्काका कारण निम्तिन सक्छ । साथै, ग्लुकोजको उच्च मात्रा एसिडिटी बढाउन सक्छ, जसले ग्यास्ट्राइटिस र एसिड रिफ्लक्सको समस्या निम्त्याउन सक्छ ।

क्याफिनको अत्यधिक सेवनले शरीरलाई निर्जलीकरण गर्न सक्छ, जसले मिर्गौलामा असर पुर्‍याउँछ । चिनीको उच्च मात्राले पनि मिर्गौलामा तनाव पुर्‍याउँछ, जसले मिर्गौलाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ ।

इनर्जी ड्रिक्समा लगभग १०० मिलिग्राम कफिन प्रति तरल औंस हुन्छ जुन नियमित कफीको तुलनामा आठ गुणा बढि हो । कफीमा १२ मिलिग्राम कफिन प्रति तरल औंस हुन्छ । 

इन्डियन मेडिकल एसोसिएसन (आइएमए)का अनुसार, ‘इनर्जी ड्रिक्सले शरीरलाई हानी गर्छ । यसमा कफिनको अधिक मात्रा हुनाले युवाहरु तथा बुढाबुढीलाई मुटुरोग, रक्त प्रवाह तथा रक्तचापको समस्याहरु उत्पन्न हुन सक्छन् ।’

यी पेय पदार्थमा तौरिन नामक एक तत्व हुन्छ जसले कफिनको प्रभावलाई बढाउँछ । इनर्जी ड्रिंक्समा हुने चिनीको मात्रालले तौल बढ्ने मात्रै होइन सामान्य साइड इफेक्टहरूमा अनिद्रा, चिन्ता, चिन्तन र बेचैनी बढाउन सक्ने विज्ञहरुले बताएका छन् । त्यसैले खाने कुरामा सचेत हुन जरुरी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077