काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका एक नेपाली नागरिकको रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया जनाउँदै उनले हर्मुज क्षेत्रमा नियन्त्रणमा रहेका नेपाली युवकको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न अविलम्ब पहल अघि बढाउनुपर्ने बताएका हुन्।
शर्माका अनुसार इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा हुन्।
उनले झाको रिहाइ चाँडै र कुशलतापूर्वक हुने विश्वास व्यक्त गर्दै समग्र क्षेत्रीय तनाव पनि शान्तिपूर्ण रूपमा समाधान हुने अपेक्षा गरेका छन्।
यसैबीच, परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्का ले स्ट्रेट अफ हर्मुज क्षेत्रबाट एक नेपाली नागरिकलाई इरानी सुरक्षा निकायले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
हाल उपलब्ध विवरणअनुसार इरानमा करिब ११ जना नेपाली नागरिक रहेको जनाइएको छ।