बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र रुकुम पूर्वको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका २२० भन्दा बढी यात्रुको उद्धार गरिएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित डोजरको प्रयोग गरी सडक खुलाएर यात्रुको उद्धार गरिएको रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिए ।
उनका अनुसार, सात बस, १० मोटरसाइकल र एउटा जीपमा रहेका यात्रु समस्यामा परेका थिए ।सहायक प्रमुख जिल्ला अधिकारी गौतमले दुई जिल्लाको सिमाना क्षेत्रको करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर बाटो खुलाइएको बताए ।
उनले भने, 'शुक्रबार साँझदेखि नै हिमपात भएको थियो, बिहानसम्म हिउँले सडक अवरुद्ध भयो । हामीले त्यो खबर पाउनासाथ भूमे गाउँपालिकाको मेसिन लिएर सुरक्षाकर्मीसहित खटेका थियौँ । सडक खुलाएर यात्रु पनि गन्तव्यतिर लागेका छन् ।'
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङखण्डमा हिउँ परे पनि यातायात नरोकिएको बताए ।
काठमाडौं, पोखरालगायत स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान, दैलेखमा पुग्ने सवारीसाधनलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न भनिएको उनले जानकारी दिए ।