ललितपुर । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुमकी ५५ वर्षीय तिल्सरी खड्का रहेकी छन् ।
आज बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने पर्खाल भत्किएको थियो । सोहि क्रममा पाँच जना घाइते भएका थिए ।
त्यसमध्ये गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते भएकी रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द, सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमालको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जसमध्ये गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
हाल प्रहरी वृत्त सातदोबाटोबाट खटिएका प्रहरी टोलीले उद्धारको काम गरिरहेको छ ।