Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेटवार्ता

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटार मा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक र सफल भन्दै बधाई तथा धन्यवाद ज्ञापन गरे।

उनले समयमै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

'समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले लोकतान्त्रिक निकास पाएको छ, जुन सामान्य कुरा होइन,'लामिछानेले भने, 'प्रधानमन्त्रीज्यूको दृढता र अडानकै कारण यो सम्भव भएको हो।'

उनले सानो टोली र छोटो समयमा विश्वलाई नै उदाहरणीय हुने गरी निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीको भूमिकाप्रति उच्च सम्मान व्यक्त गरे। साथै, आगामी दिनमा पनि उनको अनुभव, मार्गदर्शन र अभिभावकीय भूमिका आवश्यक रहने धारणा व्यक्त गरे।

जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी लाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिँदै जनअपेक्षा पूरा गर्न एकताबद्ध भएर काम गर्न आग्रह गरिन्।

'देश अहिले चुनौतीमा छ, जनताले युवाप्रति ठूलो अपेक्षा राखेका छन्,'उनले भनिन्, 'इमानदारीका साथ काम गरे परिणाम अवश्य प्राप्त हुन्छ। आलोचना र विरोधलाई कामबाटै जवाफ दिनुपर्छ।'

भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। सभापति लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो र पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै सरकारलाई आवश्यक सहयोग रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077