'स्थिति नियन्त्रणमा लिन ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रहार'
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ प्रहरी र ३ जना स्थानीय घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार केही दिनअघि बेहोस भएको अवस्थामै दुई युवकको ज्यान गएको थियो । लागुऔषधका कारण मृत्यु भएको र भारतीय सीमा क्षेत्रबाट खुलेयाम लागुऔषध भित्रिएर आफ्ना बालबालिका कुलतमा लागेको भन्दै स्थानीयले बाटो छेकेर प्रदर्शन गरिरहेका थिए ।
उनीहरुले भारतको सीमावर्ती लौकाही बजार जाने नाका बन्द गर्नु पर्ने, भारतमा लागूऔषध बेचबिखन गर्नेमाथि कारबाही गर्नु्पर्ने लगायतका माग समेत राखेका थिए ।
प्रदर्शन गरिरहेका स्थानीयहरुले हुलाकी सडकअवरुद्ध गरेपछि सडक खुलाउन पुगेको प्रहरी टोली त्यहाँ पुगेको थियो ।सोहि क्रममा आन्दोलनकारी र प्रहरीबीच विवाद भएको थियो ।
विवाद चर्किँदै जाँदा प्रहरीमाथि नै ढुंगा प्रहार हुन थालेपछि प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
झडपमा प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।