काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीद्वारा नियुक्त महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् ।
प्रधानमन्त्री पदमुक्त भएपछि सोही प्रधानमन्त्रीद्वारा नियुक्त महान्यायाधिवक्ताले पदबाट राजीनामा दिने सरकारी अभ्यासअनुसार भण्डारीले पनि राजीनामा दिएकी हुन् ।
भण्डारीले संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मंगलबारेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।
महान्यायाधिवक्ताको हैसियतले सम्पादन गरेको कार्यप्रति राष्ट्रपतिले धन्यवाद समेत व्यक्त गरेका छन् ।
भण्डारीलाई प्रधानमन्त्री कार्कीले गत २९ भदौमा महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । भण्डारीले करिब साढे ६ महिनाको कार्यकाल पूरा गरेर बाहिरिएकी हुन्।
सार्वजनिक पदमा रहँदा उनले गरेका कतिपय निर्णयहरूले न्याय प्रणालीको निष्पक्षतामाथि नै प्रश्न उठेको छ ।
नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी भण्डारीले पदमा रहँदा गरेका कयौँ निर्णयहरू विधिको शासन जोगाउनभन्दा पनि शक्ति केन्द्र र पहुँचवालालाई कानुनी राहत दिन केन्द्रित छन् । महान्यायाधिवक्ता भण्डारीले आफ्नै छोरी जोडिएको होप फर्टिलिटी डिम्ब तस्करी प्रकरणमा उनले आफू अलग बसेको देखाएर छोरीलाई बचाउन मुद्दा कमजोर पारेको र रवि लामिछाने मुछिएका दुई गम्भीर अभियोग फिर्ताको निर्णयमा मुछिएर गम्भीर विवादमा परेकी थिइन।