Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तर्राष्ट्रिय मामिला, अर्थतन्त्र तथा कूटनीतिमा स्नातकोत्तर कार्यक्रम सुरु गर्न केयू र एआईडीआईएबीच समझदारीपत्र हस्ताक्षर

अन्तर्राष्ट्रिय मामिला, अर्थतन्त्र तथा कूटनीतिमा स्नातकोत्तर कार्यक्रम सुरु गर्न केयू र एआईडीआईएबीच समझदारीपत्र हस्ताक्षर

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को स्कुल अफ आर्टस् र एसियन इन्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) बीच अन्तर्राष्ट्रिय मामिला, अर्थतन्त्र तथा कूटनीतिमा स्नातकोत्तर (एमआइएइडी) कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

यसलाई नेपालमा कूटनीति र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी उच्च शिक्षाको प्रवर्द्धनतर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

बुधबार स्कुल अफ आर्टसका डिन उद्धव प्याकुरेल र आइडाका संस्थापक सुनिल केसीबीच उक्त समझदारीपत्रमा औपचारिक रूपमा हस्ताक्षर भएको हो । 

यस सहकार्यको उद्देश्य २१औँ शताब्दीको परिवर्तनशील आर्थिक र कूटनीतिक परिवेशलाई सम्बोधन गर्न सक्षम नयाँ पुस्ताका नेतृत्व विकास गर्नु रहेको जनाइएको छ । 

एमआइएइडी कार्यक्रमले आइडाको विश्वव्यापी व्यावसायिक सञ्जाल र केयूको शैक्षिक उत्कृष्टतालाई समेट्दै शैक्षिक अनुशासन र व्यावहारिक अनुभवलाई संयोजन गर्नेछ।

सम्झौताअनुसार केयूले मुख्य शैक्षिक साझेदारको रूपमा गुणस्तर सुनिश्चितता, शैक्षिक मापदण्ड तथा डिग्री प्रदान गर्ने जिम्मेवारी बहन गर्नेछ भने आइडाले आफ्नो नवीन शिक्षण पद्धति, अन्तर्राष्ट्रिय सञ्जाल तथा कार्यक्रम सञ्चालन संयन्त्रमार्फत विश्वस्तरमै सान्दर्भिक र अभ्यासमुखी सिकाइ अनुभव सुनिश्चित गर्ने जनाएको छ।

कार्यक्रममा सैद्धान्तिक ज्ञान र व्यावहारिक कूटनीतिक अभ्यासलाई एकीकृत गर्ने तथा अनुभवमूलक सिकाइ पद्धति अपनाइनेछ। विशिष्ट विद्वान् र अनुभवी अभ्यासकर्तालाई समेट्ने हाइब्रिड संकाय मोडेललाई आधुनिक प्रविधिमैत्री शिक्षण वातावरणले सहयोग पुर्‍याउनेछ, जसले समकालीन शैक्षिक तथा पेसागत आवश्यकताहरू पूरा गर्नेछ।

कार्यक्रमका अवसरमा बोल्दै प्याकुरेलले यस सहकार्यले केयूको शैक्षिक नवप्रवर्तन र विश्वव्यापी संलग्नताप्रतिको प्रतिबद्धता झल्काउने बताए। साथै, हस्ताक्षरपछि केसीले यस सहकार्यले कूटनीति र अन्तर्राष्ट्रिय मामिलामा भावी नेतृत्व निर्माणतर्फ रूपान्तरणकारी कदमको प्रतिनिधित्व गर्ने बताए।

उनले भने–‘शैक्षिक उत्कृष्टता र अभ्यासमा आधारित ज्ञानलाई संयोजन गर्दै हामी नेपाललाई यस क्षेत्रमा उन्नत अध्ययनको क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राख्छौँ । यस कार्यक्रमले विद्यार्थीलाई समसामयिक भूराजनीतिक र आर्थिक यथार्थसँग अन्तरविषयक र दूरदर्शी पाठ्यक्रममार्फत संलग्न हुने अद्वितीय अवसर प्रदान गर्नेछ।ु’

आइडाका संस्थापक सुनिल केसीले कार्यक्रम आर्थिक कूटनीतिमा केन्द्रित हुने बताउँदै भने–‘अब आइडा एक थिंक–ट्यांक र स्नातकोत्तर शिक्षण संस्थाका रूपमा रहनेछ।’

केसीका अनुसार आइडा १२ वर्षअघि थिंक–ट्यांकका रूपमा स्थापना भए पनि सुरुदेखि नै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। आफ्नो लक्ष्यअनुरूप आइडाले अब नेपाली तथा विभिन्न मुलुकका विद्यार्थीलाई यस कार्यक्रममा आकर्षित गर्ने पनि उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077