काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा निरीक्षण गरेका छन् ।
निर्देशनालय र विभागहरूको अवलोकनपछि मन्त्री गुरुङले उच्च प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै सर्वसाधारणसँगको बोली र व्यवहार सुधार्नुपर्नेमा जोड दिए।
प्रहरीलाई समाजका लागि मोडल बनाउने लक्ष्य रहेको उल्लेख गर्दै गुरुङले भने- 'प्रहरीको सेवा सुधारदेखि अनुसन्धानका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने कार्य हाम्रो प्राथमिकता हो। तपाईँहरूले काम गरेर देखाउनुपर्छ।'
उनले प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साथै सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेको भन्दै आगामी दिनमा अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न पनि निर्देशन दिएका छन् ।
गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आईजीपी दानबहादुर कार्कीले सहितले स्वागत गरेका थिए ।
यसअघि शनिबार जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुर, सातदोबाटोस्थित प्रहरी वृत्त र रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री गुरुङले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरेका थिए।